
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले अविरल वर्षाका कारण देशभर जोखिममा परेका घर र मानिसहरुका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार
सेती नदीको बाढीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्दै दिपायलका स्थानीयवासी ।

तनहुँको बन्दिपुर गाउँपालिका–१ र भानु नगरपालिका–१ को सिमानामा पर्ने चँुदीखोला मिचेर बनाइएका घरमा बाढीले पुराएको क्षति । खोला तथा नदी मिचेर घर बनाउने पराम्परा अझै पनि रोकिएको छैन् ।

अविरल वर्षाका कारण जलमग्न कैलालीको धनगढी उपमहानगरपालिका–१ शिवनगर टोल ।

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगर भएर बग्ने सुकटी खोलामा आएको बाढीमा अभिभावकसँग माछा मार्दै बालबालिका ।

तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखादी खानेपानी संस्थाले व्यास–१३ बाट ल्याएको खानेपानीको पाइप सोही वडामा पर्ने बुद्धसिं मार्गमा पहिराले बगाएपछि त्रिपाल ओढेर मर्मत गर्दै प्राविधिक । जिल्लाकै दोस्रो ठूलो खानेपानी आयोजनाबाट करीब चौबीस सय घरधुरीले पानी प्रयोग गर्दै आएका छन् ।

बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने झोलुङ्गे पुल । लम्बाई ५६७ मिटर रहेको पुल सञ्चालनमा आएलगत्तै प्राविधिक त्रुटी देखिएपछि मर्मत गरिँदै ।

तनहुँको भानु नगरपालिका–१ स्थित भन्सारका एक कृषक बाख्रा चराउन वनतर्फ लैजाँदै । दूध र अण्डामा केहि बर्षदेखि नै आत्मनिर्भर बन्दै आएको यस जिल्ला पछिल्लो समय मासुमा समेत आत्मनिर्भर बन्न सफल भएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजार नजिकै पहिराबाट बगेको भवन संरचना । गत असारको अन्त्यतिर भएको अविरल वर्षाका कारण तनहुँमा १५६ घरपरिवार विस्थापित भएका छन् ।

कैलालीको भजनीमा पुनःबाढी आएपछि विस्थापित परिवार सुरक्षित ठाउँमा व्यवस्थापन गर्न जाँदै । शनिबारदेखि अविरल वर्षा भएपछि भजनीमा सयौँ घरपरिवारसहित गाई, भैँसी पुनःविस्थापित भएका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका– १५, पश्चिम मलवारका युवा सडक निर्माण गर्दै । समाज रुपान्तरणका लागि युवाको भूमिका महत्वपूर्ण हुने भन्दै सक्रियता देखाउन थालेका छन् ।
