×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अध्यक्षले ‘घुमाउरो धम्की दिएपछि’ बिओके प्रकरणमा युटर्न, सीइओले तत्काल बैंक नछोड्ने, भण्डारीको कार्वाही ‘सफ्ट-भाषा’मा सदर हुने !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

अध्यक्षले ‘घुमाउरो धम्की दिएपछि’ बिओके प्रकरणमा युटर्न, सीइओले तत्काल बैंक नछोड्ने, भण्डारीको कार्वाही ‘सफ्ट-भाषा’मा सदर हुने !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सोमबार बैंक अफ काठमाण्डूको बोर्ड बैठक थियो । मुख्य एजेन्डा थियो पछिल्लो समय बैंकका उच्च तहका अधिकारीहरुलाई बैंकले निकालेपछि सिर्जित ‘मुद्धा-मामिला’ । सोमबार विहानसम्म पुष्पराज भण्डारीलाई पुनर्वहाली हुनेगरी निर्णय गर्ने र शोभनदेव पन्तलाई बैंकबाट राजिनामा गर्न लगाउने तयारी संचालकहरुको थियो । बैंकका एक संचालकले यहि ‘बेस’मा रहेर छलफल गर्ने सहमति गरेका थिए अन्य केहि संचालकसँग पनि ।
तर बोर्ड बैठकको छलफल सोचेभन्दा फरक भयो । बेलुकीसम्म बसेको बोर्ड बैठकमा बैंकका अध्यक्ष शोभनदेवकै लाइनमा प्रस्तुत भए । यसै पनि यी दुई मान्छे एकआपसका परिपुरकझैं नजिक छन् । अध्यक्षले सीइओलाई अनावश्यक विवादमा नमुछ्न र सीइओ पन्तले भनेअनुसार नै पुष्पराज भण्डारीलाई गरिएको कारवाही सदर गर्न प्रस्ताव राखे । पुष्पराज भण्डारीलाई यसअघि सुर्खेत सरुवा गरिएको थियो । तर कर्मचारी बिनियामावली विपरित आफ्नो सरुवा भएको भन्दै उनी हाजिर गर्न गएनन्, बरु अदालत गए । यो विषयमा बैंकले उनलाई स्पष्टीकरण सोधी कारवाही प्रक्रिया अगाडी बढाएको थियो ।
‘पुष्पराज भण्डारीलाई कारवाही गर्नु हुँदैन भन्दै केहि संचालक कड्किए । तर शोभनदेव पन्त र अध्यक्षको कुरा पहिला नै मिलिसकेको र उनीहरु निकै तयारी गरेर बोर्ड बैठकमा आएको छनक दिनेगरी अध्यक्षले पन्तले भने अनुसार नै हुनुपर्ने अडान राखे । त्यसपछि केहि रस्साकस्सी सुरु भयो । कुरामा कुरा चलेका बेला संचालकहरुको बदमासीको कुरा पनि उठ्यो । बैंकमा अध्यक्षले गैरकानुनी ढंगले काम गरेकोबारे यसअघि सार्वजनिक भएका खबरहरुबारे पनि समिक्षा भयो । ती र त्यस्तै प्रकरणमा अन्य संचालकलाई जोड्ने धम्कीसमेत अध्यक्षबाट आएपछी संचालकहरु दोधारमा परे । शोभनदेव पन्तलाई बैंकबाट हटाउँदा अजय श्रेष्ठ प्रकरणमासमेत बैंकले मुद्धा हार्ने र त्यसले बैंकप्रतिको विश्वास झन् घट्ने अध्यक्षको ठम्याई घुमाउरो पारामा बैठकमा प्रस्तुत भयो । आफ्नै सोझा पूर्व सीइओलाई फसाउन सक्ने अध्यक्ष र सीइओले हामीलाई के बाँकी राख्लान्, भैगो रिस्क नलिउं भनेर हामी अध्यक्षले भनेअनुसारकै कुरामा सहमत भयौं। ‘ एक संचालकले अर्थ सरोकार डटकमसँग भने, ‘हरामका अगाडी राम डराएभनेजस्तै भयो । पुष्पराज भण्डारीलाई अन्याय भएको थाहा पाउँदा पाउँदै पनि उनको पक्षमा बोल्ने हामीलाई अल्पमतमा पारिएपछी केहि गर्न नसकिने भयो ।’ 
अव के हुन्छ त ? हाम्रो प्रश्नमा ती संचालकले भने – ‘ सबै काम सीइओ र अध्यक्षको निर्णयमा भर पर्यो । बाँकी नाममात्रका संचालक भए । कतिपय संचालक त औपचारिक रुपमा बैंठकमा हाजिर गरेर बाहिर निस्कनुभयो । खासामा भन्ने हो भने बस्नुको औचित्य पनि थिएन । अन्त्यमा पुष्पराज भण्डारीलाई बैंकबाट कारवाही गरेको जस्तो पनि नदेखिने र पुनर्वहाली हुने सम्भावना पनि सकिने गरी ‘सफ्ट’ भाषा प्रयोग गरेर बिदाइ गर्ने सहमति भयो । 
‘यो त भण्डारीलाई अन्याय भएन र ?’ हाम्रो प्रश्नमा ती संचालकले भने, ‘सरासर अन्याय भयो । तर उनका पक्षमा लड्दै जाने कि यो प्रकरण मत्थर बनाएर बैंकलाई अघि बढाउने भन्ने दुई विकल्प भए । बैंकको सोचेजस्तो ग्रोथ छैन । अध्यक्ष सीइओ हटाउन नमान्ने, अनि सीइओसँग रिजल्टको कुरा गर्दा तपाईंहरुले अरु विषयमा झुलाउनुभयो बह्नेरा जवाफ दिने । अव के गर्नु ? हामीले दोश्रो विकल्प रोज्ने सोच्यौँ । सबै कुरा टुंग्याएर सीइओलाई रिजल्टका लागि प्रेसर दिने सोच्यौं । पुष्पराजजीलाई सरी भन्नु बाहेक कुनै विकल्प भएन।’
‘तर अदालतले पुनर्वहालीको निर्णय गर्ला, सुशीलजीले पनि मुद्धा जितिसक्नु भएको छ नि ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने अध्यक्ष र सीइओकै सल्लाह अनुसार सर्वोच्च जाने कुरा भएको छ । मुद्धा लड्ने हार्ने देखियो भने बरु छोड्ने अहिले सीइओ पन्तनै सीइओको रुपमा अघि बढ्नेगरी मोटामोटी छलफल भएको छ ।’ आफ्नो नाम कतै उल्लेख नगर्ने सर्तमा वाट्सएपमा अर्थ सरोकारसँग कुरा गरेका ती संचालकले भने, ‘अर्थ सरोकारमा प्रकाशित समाचारका बारेमा पनि थोरै छलफल भएको थियो । तर मिडिया हेर्ने कर्मचारीले गलत ब्रिफिङ गरेका रहेछन् । समाचार दिएको भन्दै गलत व्यक्तिमाथि शंका भएपछी हामीले ढुक्क भएर अरु कुराहरुलाई अगाडी बढायौं। ‘ 
यस विषयमा अध्यक्ष र सीइओसँग हामीले सम्पर्क पनि गर्न खोज्यौं । तर सम्पर्क भएन । सीइओले फोन नउठाएपछी हामीले बैंकका मिडिया हेर्ने रितेश लामिछानेलाई यसअघि पनि सीइओलाई आफ्नो धारणा राख्न समय मिलाईदिन भनेका थियौं । तर उनकै सल्लाहमा सो कार्यक्रम स्थगित गरिएको सोहि विभागका अन्य एक कर्मचारीले अर्थ सरोकार डटकमलाई जानकारी दिएका छन्।
(बैंकको यो प्रकरणबारे तयार गरिएको विशेष भिडियो सामाग्री हामी छिट्टै प्रशारण गर्दैछौं …- सम्पादक)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: