
सर्लाही । जिल्लामा कोरोना भाइरस जितेर सञ्चो भई घर फर्किएका व्यक्तिलाई उपचारपछि पनि समाजले हेर्ने दृष्टिकोणमा फरक पाइएको छ । लालबन्दी नगरपालिका–२ निवासी ३३ वर्षीय शारदा वान्तवाले कोरोना लागेका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा फरक पाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “घर परिवारका मानिसदेखि समाजका अरु व्यक्तिले पनि गर्ने व्यवहार निकै फरक हुँदोरहेछ, मेरा दुई छोरा छन्, उनीहरु पनि तपाईँलाई कोरोना लागेको होइन, अलि पर बस्नुस् भन्छन् ।”
उहाँले भन्नुभयो, “म महिला सञ्जालमा काम गर्छु, समाजमा सबै खालका मुद्दाहरु आइरहन्छन् । समाजमा धेरै दिदीबहिनीसँग भेट हुन्छ, समाजमा सँगै बसिन्छ । एक दिन अचानक मलाई कमजोर महसुस भयो । अनि जाँच गराउँदा कोरोना भएको रहेछ । त्यसपछि घरमा आएर तीन दिन जति छुट्टै घरमा क्वारेन्टिनमा बसेँ । त्यही बेला स्वाब परीक्षणको रिपोर्ट आयो । शङ्का त लागेको थियो तर कमजोरी होला भन्ने सोचेकी थिएँ तर फ्याट्ट कोरोना देखियो ।” त्यसपछि लालबन्दी नगरपालिकाले तयार पारेको कृषि सामग्री कम्पनी लिमिटेडको भवनको आइसोलेसनमा दुई सातासम्म उपचार गर्न बस्दा व्यक्तिगत सरसफाइ र खानपिनले नै कोरोनालाई जितेको उहाँको अनुभव छ । बेला–बेलामा तातोपानी र बेसारपानी खाएको उहाँले सुनाउनुभयो ।
कोरोनालाई सामान्य सोच्नु नहुने बताउँदै उहाँले बिरामीको उपचारमा स्वास्थ्यकर्मीले सोचेभन्दा बढी सहयोग गरेको वान्तवाको भनाइ छ । लालबन्दी नगरपालिका–८ का वडाध्यक्षसमेत रहनुभएका ३५ वर्षीय राजनकुमार श्रेष्ठ पनि तातोपानी बेसार, जिरा र अदुवा पानी खाएर आफूले कोरोनालाई जितेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कोरोना लाग्नेबित्तिकै शुरुमा निकै डर लागेको थियो, तर डराउन नहुने रहेछ । लागिहाले आत्तिहाल्नुपर्ने अवस्था हुँदोरहेनछ । कोरोना भनेको केही होइन रहेछ ।” कोरोना लागेपछि घरबाहिर समाजका व्यक्ति टाढा नै हुन खोज्ने पाएको बताउँदै उहाँले आफूले पनि अरु कोरोना सङ्क्रमितहरुसँगै आइसोलेनसनमै बसेर उपचार गरेको र आइसोलेसनमा बस्दा अरु कोरोना सङ्क्रमितको मनोबल नघटोस भनेर रमाइलो गरेको बताउनुभयो ।
जिल्लामा करिब दुई हजार २०० को हाराहारीमा कोराना सङ्क्रमण देखिएको भए पनि लालबन्दीमा ८४ जनामा मात्र कोरोना सङ्क्रमण देखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । अहिले जिल्लाको एक मात्र नगरपालिका लालबन्दीमा कोरोना सङ्क्रमणका बिरामी एक जना पनि नरहेको नगर स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्रकुमार खतिवडाले बताउनुभयो । नगरमा देखिएका ८४ कोरोना सङ्क्रमित सबै कोरोना जितेर घर गइसकेका नगरपालिकाले जनाएको छ ।–रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्