
डोटी । कोरोना भाइरसको त्रास कायमै रहेका बेला जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित धारापानीमा औद्योगिक ग्रामको निर्माण तिब्र गतिमा भइरहेको छ । विसं २०७६ साल माघ २० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले यहाँको बुडरस्थित धारापानीमा औद्योगिक ग्राम बनाउने निर्णय भएसँगै अहिले उक्त क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि भौतिक संरचना निर्माण कार्य धमाधम भइरहेको हो । कूल ५० रोपनी जग्गामा औद्योगिक ग्राम निर्माण कार्य शुरु भइरहेको छ । औद्योगिक ग्रामभित्र निर्माण गर्न सकिने उद्योगको अवस्थालाई मध्यनजर गर्दै अझै कम्तिमा पनि ५०० रोपनीसम्म जग्गा लिने तयारी भइरहेको छ ।
औद्योगिक ग्राम घोषणाका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र जोरायल गाउँपालिकाबीच गत वर्षको फागुन १६ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरी उद्योग स्थापना, विकास र प्रवद्र्धन गर्दै रोजगारी सिर्जनाको माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउने सरकारको उदेश्यअनुसार उक्त औद्योगिक ग्राम निर्माण गरिन लागेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यावसायिक रोजगारी सिर्जनाको माध्यमबाट स्थानीय अर्थतन्त्रको दीगो विकासका लागि औधोगिक ग्राम निर्माण गर्दैछौँ, आसा छ सबैले रोजगारी तथा कमाउने अवसर पाउने छन् ।”
उक्त ग्राम निर्माणका लागि सङ्घीय सरकारबाट आर्थिक वर्ष २०७६-२०७७ मा रु ९२ लाख निकासा आएकोमा अहिलेसम्म रु ८३ लाख ६० हजार खर्च भएको गाउँपालिकाले जनाएको छ । उक्त रकमबाट औधोगिक ग्राम क्षेत्रमा खानेपानी, शौचालय र प्रशासनिक भवन, घेरबारलगायत संरचनाको निर्माणको काम भइरहेको छ । वहुवर्षीय योजना भएका कारण बाँकी काम आगामी वर्षमा हुने योजनाअनुसार काम तिब्ररुपमा अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष ओझाले जानकारी दिनुभयो । बुडरमा औद्योगिक ग्राम स्थापनाको लागि जोरायल गाउँपालिकाले लामो समयदेखि पहल गरेको थियो । गाउँपालिकाको पहलपश्चात उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बुडरमा औद्योगिक ग्राम स्थापना गर्न मन्त्रिपरिषदबाट स्वीकृत गराउनु भएको बुडर धारापानीका स्थानीय तुलाराम साउदले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँपालिकाको पहल तथा मन्त्रीले स्वीकृत गराउँदा हाम्रो क्षेत्रमा औधोगिक ग्राम निर्माण हुँदै छ, सबैले रोजगारसहित यहाँको विकास हुनेमा हामी निकै खुशी छौँ ।” सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला प्रवेश गर्ने एकमात्र पहाडी प्रवेशद्वारको रुपमा रहेको बुडरस्थित धारापानीमा निर्माण हुँदै गरेको औद्योगिक ग्राम नमुनाको रुपमा विकास गरिने जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुनाकुमारी बोहराले बताउनुभयो । सो औद्योगिक ग्राम स्थापना भएपछि डोटीको जोरायल गाउँपालिकाका साथै छिमेकी जिल्ला डडेल्धुरा जिल्लाका आलिताल गाउँपालिका तथा कैलालीको चुरे गाउँपालिकाका स्थानीय बासिन्दाहरु पनि प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
कोरोना त्रास कायमै रहेको भएपनि सामाजिक दूरीसहित कोरोना जोखिमबाट जोगिने विधि अपनायर यहाँका औधोगिक तथा विकास निर्माणका कार्य भने धमाधमरुपमा सञ्चालन भइरहेका छन् । विकास निर्माणका कार्यहरु सञ्चालन गर्न स्थानीय प्रशासनले कुनै अवारोध तथा आवश्यक सामग्री आयात गर्नमा रोक नलगाएका कारण यहाँका निर्माण हुन लागेका विकास निर्माणका काम निरन्तर अघि बढेका छन् । सडक, मोटर पुल निर्माणदेखि अन्य औधोगिक विकास निर्माणका कामहरु जिल्लामा निर्वाधरुपमा सञ्चालन हुन दिएको प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा कोरोनाको त्रास कायम रहेपनि हामीले कोरोनाबाट सचेतना अपनाउन निर्देशन दिँदै अनुगमन गर्दै विकास निर्माणका सामग्री ल्याउन र काम गर्न अवरोध गरेका छैनौँ, जसले गर्दा जिल्लामा विकास निर्माणका कामले तिब्रता पाएको छ ।”–रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्