×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँचथरमा अझै रोकिएनन् सभा समारोह, कोरोना सङ्क्रमणको जोखिम बढ्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पाँचथरमा अझै रोकिएनन् सभा समारोह, कोरोना सङ्क्रमणको जोखिम बढ्यो

४ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पाँचथर । पाँचथरमा निर्बाध रुपमा चलिरहेका ठूलो सङ्ख्यामा मानिस भेला हुने सभा तथा समारोहले कोभिड–१९ सङ्क्रमणको जोखिम बढाएको छ । बन्दाबन्दी ‘लकडाउन’ खुल्नुका साथै व्यापार, व्यवसाय, होटल–रेष्टुराँ, लामो दूरीका सवारी साधन सञ्चालनमा आए पनि सरकारले सबै प्रकारका सभा, समारोह, भेलामा रोक लगाइरहेकै छ । 
यससम्बन्धी सूचना जिल्ला स्तरमा जिल्लास्थित प्रशासन तथा स्थानीय तहहरुले नियमित रुपमा जारी गरिरहेकै छन् । ठूलो सङ्ख्यामा मानिस भेला हुने कार्यक्रमबाट कोरोना सङ्क्रमण फैलन खतरा अत्यधिक हुने जनाउँदै सरकारले सभा, समारोह, भेलामा रोक लगाएको हो । यस्ता अत्यावाश्यक काममा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्न सरकारी निकायहरुले सुझाइरहेका छन् । तर पाँचथरमा सभा, समारोह, भेलालगायत कार्यक्रम रोकिएका छैनन् भने यस्ता कार्यक्रममा स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बनसमेत हुन सकेको छैन । 
यहाँ राजनीतिक दलका गतिविधिहरु नियमित जस्तै सञ्चालित छन् । पार्टी प्रवेशदेखि भेला बैठकहरु चलिरहेकै छन् । जिल्लाका नेताहरु पार्टीका गतिविधिमा गाउँ–गाउँ पुगिरहेका छन् । दलका नेता कार्यकर्ताहरु कोरोना सङ्क्रमणको महामारीको पर्वाह नगरी चुनाव नजिकिए जसरी राजनीतिक गतिविधिमा व्यस्त छन् । बधाई, शुभकामना र श्रद्धाञ्जलि व्यक्त गर्ने मुख्य उद्देश्य रहने विभिन्न कार्यक्रममा समेत आवश्यक पर्नेभन्दा बढी भीड जम्मा भइरहँदा सचेतना र सतर्कता अपनाइएको पाइँदैन । 
राजनीतिकभन्दा गैरराजनीतिक क्षेत्रका गतिविधिहरु झनै बाक्लो गरी भइरहेका छन् । व्यावसायिक, सांस्कृतिक, सार्वजनिक कार्यक्रम चलिरहेका छन् । यस्ता कार्यक्रममा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउने सवाललाई आयोजक र सहभागीहरुले प्राथमिकतामा राखेका छैनन् । लकडाउन खुलेयता ‘कोरोना सङ्क्रमणको महामारी रोक्ने दायित्व स्थानीय प्रशासन र सरकारको मात्रै हो’ भन्ने सन्देश दिने गतिविधिहरु विभिन्न क्षेत्रबाट भइरहेका छन् । कोरोनाको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्तरमा आयोजना गरिने बैठक तथा समीक्षामा सतर्कता अपनाउने÷अपनाउन लगाउनुपर्छ भन्ने आवाज सशक्त रुपले राख्ने व्यक्तिहरु नै यदाकता स्वास्थ्य सुरक्षाका मापदण्डहरु ख्याल नगरी विभिन्न कार्यक्रम आयोजना गर्ने तथा सहभागी हुने गरेका देखिन्छन् । ठूलो सङ्ख्यामा हुने भेला तथा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नभए पनि सुरक्षा निकायले यस्ता गतिविधि रोक्न सकेको छैन् ।
यही असोज १ गतेदेखि सवारी साधन सञ्चालनमा आएपछि लामो समयदेखि गाउँ–घर फर्कन नपाएकाहरु काठमाडौँ तथा तराईका जिल्लाहरुबाट जिल्ला फर्कंदैछन् । विशेषत तराईका जिल्लासँगको दैनिक सम्पर्कले यहाँ सङ्क्रमणको जोखिम बढिरहेको छ । जिल्ला भित्रै २० जनाभन्दा बढीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ । तर जोखिमको तुलनामा सावधानी र स्वास्थ्य सुरक्षाका मापदण्डको अवलम्बनको अवस्था अत्यन्तै कमजोर हुँदा एकै पटक धेरै व्यक्तिमा सङ्क्रमण फैलन खतरा बढेको यहाँका स्थानीयवासीको गुनासो छ । स्थानीय प्रशासनले ‘प्रत्येक व्यक्ति सचेत भए मात्रै महामारी नियन्त्रण तथा रोकथाममा सहयोग पुग्ने’ भन्दै थप सचेतना अपनाउन सार्वजनिक सूचनामार्फत आग्रह गरिरहेको छ । नागरिक स्तरमा पाँचथर उद्योग वाणिज्य सङ्घले उपभोक्ताहरुलाई भौतिक दूरी पालना तथा मास्कको प्रयोग अनिवार्य गर्न सदरमुकाम केन्द्रित सचेतनामूलक गतिविधि गर्दै आएको छ ।- रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: