×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा प्याज उत्पादनको अवस्था कस्तो छ ? के भन्छन् वरिष्ठ बागवानी विकास अधिकृत आचार्य ? (भिडियो रिपोर्ट)

PRIME CA

नेपालमा प्याज उत्पादनको अवस्था कस्तो छ ? के भन्छन् वरिष्ठ बागवानी विकास अधिकृत आचार्य ? (भिडियो रिपोर्ट)

४ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: < ४ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपालमा प्याजको खपत दिनप्रतिदिन बढ्दै गएको छ । आजकाल नेपालीहरुको भान्सा प्याज र गोलभेडा बिना करिब अपुरो हुने स्थिति आइसकेको छ । प्याजको खपत विभिन्न परिकार बनाउँदा प्रयोग गर्ने देखि लिएर सलादको रुपमा खाने सम्मको छ । त्यसैले पनि प्याजको महत्व पछिल्लो समय बढ्दै गएको छ । खपत बढ्दै जाने तर उत्पादन कम हुने स्थिति र अर्बौं रुपैयाँको प्याज भारतबाट आयात हुने भएकाले भारतले निर्यात रोक्दा नेपालको बजारमा प्याजको भाउ आकासिने गर्छ । केहीदिन यता नेपाली बजारमा प्याजको भाउ आकासिएको छ । जसको मुख्य कारण भारतले निर्यात रोक्नु नै हो ।
वरिष्ठ बागवानी विकास अधिकृत भरतबहादुर आचार्यका अनुसार तथ्याङ्कगत आधारमा हेर्दा नेपालको उत्पादनले खपत धान्न नसक्ने भएपनि आयात रोकिदैमा मूल्यमा तिब्र उतारचढाव आउने स्थिति भने देखिदैन् । उहाँले नेपालमा करिब ४ लाख मेट्रिकटन वार्षिक खपत हुने गरेको र नेपालको उत्पादन ३ लाख मेट्रिकटन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तथ्याङ्कगत हिसाबमा हेर्दाखेरी हाम्रो उत्पादनले वार्षिक मागलाई पुग्दैन । अघिल्लो वर्षको तथ्याङ्क हे¥यो भने आर्थिक वर्ष २०७६/०७७ मा करिब ३ लाख मेट्रिकटनको उत्पादन छ । त्यहिसँगसँगै हाम्रो अयातलाई हेर्दाखेरी १ लाख ६ हजार मेट्रिकटन छ । यसले आयात र हाम्रो उत्पादनको तथ्याङ्कलाई जोड्दा करिब ४ लाख खपत भएको देखिन्छ । त्यसमा पनि वास्तविक रुपमा के देखिन्छ भने उत्पादन भइसकेपछि उपभोक्तासम्म पुग्दा करिब १०÷१२ प्रतिशत नोक्सान हुन्छ । त्यो १०/१२ प्रतिशतलाई कटाउने हो भने गत आर्थिक वर्षको तथ्याङ्कलाई विष्लेषणगर्दा ३ लाख ५० हजार मेट्रिकटन वास्तविक खपत भएको देखिन्छ । ’
आयातको सन्दर्भमा गत वर्ष पनि भारतले निर्यात रोक लगाउँदा केही खपत घटेको वरिष्ठ बागवानी विकास अधिकृत आचार्यको भनाई छ । तर सहज अवस्थामा बढीमा पनि साढे ४ लाख मेट्रिकटन प्याज खपत हुन्छ । जुन नेपालको उत्पादनले धान्न नसक्ने स्थिति भएपनि मूल्यमा अत्याधिक वृद्धि हुने स्थिति नरहेको उहाँको भनाई छ ।
नेपालमा खासगरी मौसमी खेतिको रुपमा मंसिर/पुषमा रोपेर बैशाखमा प्याज उत्पादन हुन्छ । तर साउनमा रोपेर मंसिरमा उत्पादन लिन सक्ने बेमौसमी प्याज उत्पादन पनि हुन्छ । भारतमा पनि दुई सिजनमा मात्रै उत्पादन गर्ने गरिन्छ । तरपनि भारतमा कम उत्पादन हुँदा नेपालको बजार प्रभावित भइहाल्छ । किनभने नेपालको खपतमा नेपालको उत्पादनले भ्याउँदैन र भारतबाट आयात गर्नैपर्ने बाध्यता छ । नेपालमा बेमौसमी प्याजको उत्पादन खासै नभएकाले पनि अहिलेको समयमा प्याजको माग भन्दा आपूर्ति कम देखिने गरेको छ । 
तर पछिल्लो चारपाँच वर्षको तथ्याङ्क हेर्नेहो भने नेपालको उत्पादन प्रत्योक वर्ष बढ्दै गएको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो उत्पादन नपुग्ने हो तर हाम्रो उत्पादन हुँदै नभएको भन्ने चाहिं होइन । विशेष गरेर प्याजको उत्पादन वर्षमा २ सिजनको हुन्छ । एउटा मुख्य सिजन बैशाख तिर हार्भेष्ट हुने मंसिर पुस तिर रोकेर बैशाखमा हार्भेष्ट हुने मुख्य सिजन भयो । नेपालमा पनि त्यहि हो र भारतमा पनि त्यहि हो । अर्को साउन तिर रोपेर कार्तिक मंसिरमा हार्भेष्ट हुने हो । कार्तिक मंसिर तिर जुन प्याज हार्भेष्ट गर्छौं त्यो चाहिं बेमौसमी प्याज पनि भनिन्छ । यो बेमौसमि प्याजको सन्दर्भमा हाम्रो खासै उत्पादन छैन् । भर्खर सुरुवातको क्रममा मात्रै छ । प्याजको व्यवसायीक रुपमा अगाडि बढ्ने सन्दर्भलाई यसरी हेर्दाखेरी चारपाँच वर्षको तथ्याङ्कलाई हे¥यौं भने उत्पादन केही मात्रामा बढ्दै गएको अवस्था छ ।’
नेपालमा प्याजको उत्पादन बढाउन जमिनको क्षृत्रफल र उत्पादकत्व क्षमता बढाउनुपर्ने देखिन्छ । नेपालमा अहिले तराई र मध्यपहाडी क्षेत्रमा गरी कुल २० हजार ९ सय ८ हेक्टर क्षेत्रफलमा प्याज खेति हुँदै आएको छ । सरकारले प्याजको उत्पादन बढाउनका लागि विभिन्न कार्यक्रमहरु समेत लागू गरेको छ । आर्थिक वर्ष २०६३/०६४ देखि आर्थिक वर्ष २०६९/०७० सम्म तराईका जिल्लाहरुमा प्याज मिसन कार्यक्रम सञ्चालन भएको थियो । अहिले पनि १० जिल्लाका १० वटा स्थानीय तहमा सरकारले प्याजको व्यवसायीक गाना उत्पादन कार्यक्रम कर्यान्वयनमा ल्याएको छ । वरिष्ठ बागवानी विकास अधिकृत आचार्यले भन्नुभयो ‘स्थानीय तहमा नै कार्यक्रम सिधै संघबाट जाने सशर्त अनुदान कार्यक्रम भनेर एक करोड रुपैयाँ बजेटको कार्यक्रम १० वटा जिल्लाको १० वटा स्थानीय तहमा गएको छ । प्याजको व्यवसायीक गाना उत्पादन कार्यक्रम भनेर गएको छ । ’

नेपालमा उत्पादन बढाउनको लागि बिउको व्यवस्थापन मुख्य चुनौतिको रुपमा देखा परेको छ । वरिष्ठ बागवानी विकास अधिकृत आचार्यका अनुसार नेपालमा २० हजार ९ सय ८ हेक्टरलाई करिब २ हजार ९० क्विन्टल बिउ आवश्यक पर्नेमा सबै बिउ नेपालमा उत्पादन नहुने भएकाले समस्या भएको बताउनुभयो । नेपालमा खासगरी रेडक्रियल जातको प्याज खेति गरिन्छ । भारतबाट प्याजको बिउ ल्याउन पनि भारतले निर्यातमा रोक लगाएको छ । त्यसैले तराईको जिल्लामा खुला बोर्डरबाट अवैधानिक रुपमा आउने बिउले धानेको आचार्यले बताउनुभयो । 
उहाँले भन्नुभयो ‘गुणस्तरीय उन्नत बिउको सन्दर्भमा हामीसँग भएको उत्पादन जुन बिउको परिमाण छ २० हजार ९ सय ८ हेक्टरलाई चाहिने त्यो हामीसँग नपुग्दो छ । किनभने २० हजार ९ सय ८ हेक्टरलाई करिब बिउको परिमाणको हिसाबले हेर्नेहो भने २ हजार ९० क्विन्टल बिउ आवश्यक पर्ने देखिन्छ । बिउकै लागि भनेर हाम्रो तथ्याङ्कमा हेर्दाखेरी १ सय ५० क्विन्टल बिउ उत्पादन छ । विशेष गरेर रेडक्रियल प्याजको जात एकदम पपुलर छ र खानमा पनि स्वादिलो छ । पिरो कम पनि भएको र यसको भण्डारण क्षमता पनि राम्रै छ । यसको बिउको उत्पादन नपुग देखिएको छ र यसले हाम्रो क्षेत्रफलाईपनि भारतबाट खुला बोर्डरबाट आउने बिउले नै पुरा गरेको अवस्था देखिन्छ किनभने भारतबाट बिउ कानुनी रुपमा निर्यात गर्नलाई रोक लगाएकै छ । कानुनी रुपामा त्यो आउँदैन् ।’

नेपालमा प्याज उत्पादका लागि प्रविधिको प्रयोग पनि कम छ । वरिष्ठ बागवानी विकास अधिकृत आचार्यले सरकारले पनि किसानसम्म प्रविधि पु¥याउन नसकेको बताउनुभयो । त्यस्तै गहुँ सिजनमा प्याजको सिजनल उत्पादन हुने भएकाले किसानहरु गहुँको सट्टा प्याज खेति गर्न नचाहनु पनि अर्को कारण देखिन्छ । त्यस्तै भारतमा उत्पादन बढी हुने र नेपालमा सोही प्याज आयात हुँदा मूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले किसानहरु प्याज खेतिमा आकर्षित हुन नसकेको पनि आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो ‘भारतमा कुनै वर्ष उत्पादन बढी हुने र उत्पादन बढी भएपनि निश्चित रुपमा भारतबाट आयात हुने परिमाण बढ्छ र मूल्यमा हाम्रो उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था हुन्छ । त्यस्तो अवस्था भएमा किसानहरुले राम्रो मूल्य नपाउने अवस्था सिर्जना हुनेहुँदा प्याजको उत्पादन क्षेत्र विस्तार गर्ने सन्दर्भमा किसानहरु कम आकर्षित भएको पाइन्छ ।’ हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: