
मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङबाट कम मात्रामा च्याङ्ग्रा निर्यात भएपछि भाउ आकाशिएको छ । चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट जम्मा १० हजार च्याङ्ग्रा बिक्रीका लागि बाहिरिएका छन् । दशैँ, तिहारमा च्याङ्ग्राको मासु खाने प्रचलन भए पनि भाउ भने छोइसाध्य छैन । रु ९५० प्रतिकिलो खसीको मासु रहेको बागलुङ बजारमा च्याङ्ग्राको मासुलाई झण्डै दुई गुणा पर्न जाने मासु व्यवसायी कृष्ण खड्काले बताउनुभयो । मुस्ताङबाट हिँडेको च्याङ्ग्रा व्यापारीहरुले बागलुङ बजारमा ल्याएका छन् । कोरोनाका कारण तिब्बतबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि मुस्ताङमा मात्रै उत्पादित च्याङ्ग्राले बजारको माग धान्नै धौधौ परेको छ ।
मूल्य बढी पर्ने भएकाले गत वर्षको तुलनामा च्याङ्ग्राको व्यापार घट्दै गएको बागलुङबाट मुस्ताङ गएर पाँच वर्षदेखि च्याङ्ग्रा ल्याउँदै आएका अम्मरबहादुर क्षेत्रीले जानकारी दिनुभयो । “यसपालि च्याङ्ग्रा कम छन्, गत वर्ष १०० भन्दा बढी च्याङ्ग्रा ल्याउँथे, यसपालि मुस्ताङमै महङ्गो मूल्य तिरेर जम्मा ७५ च्याङ्ग्रा ल्याएको छु”, उहाँले भन्नुभयो, “भाउ सुन्दै ग्राहक डराउन थालेपछि चार दिनमा बल्ल १२ वटा च्याङ्ग्रा बेच्न सफल भएँ, यिनै च्याङ्ग्रा बेच्न पनि मुस्किल होलाजस्तो भयो ।” उपभोक्ताले च्याङ्ग्राको विकल्पमा स्थानीय भेडा, खसी तथा बोका खोज्न थालेका छन् । एउटा च्याङ्ग्रा खरिद गर्ने रकमले दुई/तीनवटा खसी आउने भएपछि यसको विकल्प खोज्न थालेका हुन् ।
एघार दिनको पैदलयात्राबाट बागलुङमा च्याङ्ग्रा भित्र्याउनुभएका क्षेत्रीसहित बागलुङ तित्याङका लक्ष्मण खड्काले ७५ र म्याग्दीका पुरन सुवेदीले १५० च्याङ्ग्रा ल्याउनुभएको हो । च्याङ्ग्रा व्यापारी लक्ष्मण खड्काले पोहोरको तुलनामा एउटा च्याङ्ग्राको भाउ झण्डै रु छ हजारले बढेको हुँदा यसपालि च्याङ्ग्राको व्यापार घटेको बताउनुभयो । अहिले बागलुङ बजारमा एउटा च्याङ्ग्राको मूल्य रु ३५ हजारभन्दा माथि छ । प्रतिकिलो च्याङ्ग्राको मासुको मूल्य रु एक हजार ८०० पर्ने गरेको अर्का च्याङ्ग्रा व्यापारी पुरन सुवेदीले जानकारी दिनुभयो ।
च्याङ्ग्रा कम आयात भएका कारण मूल्य बढेपछि च्याङ्ग्रा बिक्री गर्न धौधौ भएको च्याङ्ग्रा व्यापारी क्षेत्रीको भनाइ छ । किसानको गोठबाटै च्याङ्ग्रा ल्याएर बिक्री गर्दासमेत पहिलाको जस्तो कमाइ हुन नसकेको व्यापारीको गुनासो छ । “कोही बिरामी परेर मर्छन्, कोही हराउने सम्भावना पनि हुन्छ”, व्यापारी लक्ष्मण खड्काले भन्नुभयो, “हिँडाइ र चराइ नमिल्दा च्याङ्ग्राको तौलसमेत घट्दै जाने भएकाले अहिले व्यापारसँगै नाफासमेत घटेको छ ।”
यो वर्ष बागलुङमा जम्मा एक हजार च्याङ्ग्रा भित्रिएको अनुमान छ । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केकोे च्याङ्ग्रा चाडपर्वमा खाने चलन छ । स्वादिष्ट र स्वस्थकर मासुका लागि यो दशैँमा रु ३५ हजारमा च्याङ्ग्रा खरिद गरेको बागलुङ बजारका उपभोक्ता यामबहादुर क्षेत्रीले बताउनुभयो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्