
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय टोलीले हुम्लामा चीनले भूमि मिचेको निष्कर्ष निकालेको छ। कर्णाली प्रदेशका प्रतिपक्षी नेता एवं हुम्लाबाट निर्वाचित प्रदेश सांसद जीवनबहादुर शाहीको नेतृत्वमा असोज १४ गते (बुधवार) कांग्रेसका जनप्रतिनिधिको टोली स्थलगत अध्ययनमा गएको थियो । १० दिनको अध्ययनपछि शनिवार साँझ सदरमुकाम सिमिकोट आइपुगेको टोलीका नेता शाहीले निरीक्षणका क्रममा ठाउँ ठाउँमा चीनले भूमि मिचेको देखिएको बताए।
‘सीमा मिचिएकै छ । चीनले हामीलाई हेपेको छ । हामीले किनेको सामान समेत रोकेर राखेको छ । अर्को चीनले हेपेको भनेको के छ भने, म पहिलोपटक मन्त्री हुँदा टेलिफोनको टावर राख्न खोजेको थिएँ । चीनले अहिलेसम्म पनि टावर राख्न दिएको छैन । सीमा क्षेत्रमा उनीहरूकै टावरमार्फत सम्पर्क गर्नुपर्ने अवस्था छ । चीनले हेपेको विषयमा स्थानीय जनतासँग सरकारले आएर बुझे हुन्छ । मसँग त सबैको रेकर्ड छ,’शाहीले भने,’ हुम्लाजस्तो जिल्लाको विकट गाउँका मानिसले सीमा विवादका कारण खान, लाउन पनि समस्या हुन्छ कि भन्ने चिन्ता समेत देखिएको छ । राज्यले सीमा क्षेत्रमा बसेका नेपालीहरूका लागि विषेश प्याकेज ल्याउनुपर्यो । मैले हेर्दाखेरि १२ नम्बर पिलर पहिलाको जङ्गे पिलर होइन । पुरानो निकालेर नयाँ बनाइएको छ । त्यो पिलरको रङले समेत नयाँ हो भन्ने स्पष्ट देखिन्छ।’
उनले ५९१० र ६९१० एक पिलर उनीहरूले आफ्नो क्षेत्रभित्र पारेर हाम्रोतिर बार लगाएको बताए। ‘त्यहाँ उनीहरूको सेक्युरिटी बसेको छ । त्यहाँ हाम्रा गाउँलेहरू जाँदा ढुङ्ग हानेर लखेटेको रहेछ । हामी जानुभन्दा एक दिनअघि पनि उनीहरूले ढुङ्गा हानेको थाहा पाएँ । हामी जाँदा भने कुनै अवरोध गरेनन्,’ उनले भने,’ जङ्गे पिलर ढलेको देखिएको छ, उनीहरूले त्यसको ठाउँमा नयाँ पिलर बनाएका रहेछन् । यस्तो ज्यादती भएको छ । सीमा मिचिएको छ । पहिला पनि केही हेक्टर नेपाली भूभाग मिचिएको भनेर कुरा आएको भए पनि सरकारले होइन भनेको थियो । अहिले चिनियाँहरूले पिलरको ओरिजिन नै फरक पारेका छन् ।
उनले जीपीएस प्रणाली नै परिवर्तन गरेर प्राविधिक रुपमा समेत जमिन हडप्न खोजिएको बताए। ‘हाम्रो निष्कर्ष सीमा मिचिएको छ। चीनसँग कुटनीतिक वार्ताको विकल्प छैन,’ उनले भने। कांग्रेसकी प्रतिनिधिसभा सदस्य रंगमती शाहीले पनि आफूहरुको निष्कर्ष भूमि मिचिएकै भएको बताइन्। ‘सीमामा धेरै समस्या देखिएको छ। पिल्लरहरु ठाउँमा सद्दे छैन। नेपाली भूमिमा चिनियाँ रजाई देखियो,’ उनले भनिन्, ‘प्रतिवेदनमार्फत एक एक तथ्य सार्वजनिक हुन्छ।’
टोलीमा रहेका नाम्खा गाउँपालिका उपाध्यक्ष पेमा तामाङले चिनियाँले भवन बनाएको भूमि नेपालमै पर्ने बताए।’५ र ६ नम्बर पिल्लरमा तलमाथि देखियो। केरबार गरेको पाइयो। पुरानो तोडफोड गरेर १२ नम्बर पिल्लर नयाँ छ। सीमा मिचेर भवनहरु बनाइएको देखियो,’ उनले भने, ‘हाम्रो टिमले एक एक तथ्य संकलन गरेको छ। ११ नम्बर भने पुरानै पाइयो।’
नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीस्थित लाप्चा क्षेत्रमा चिनियाँ पक्षले भवन बनाएपछि दुई देशबीच सीमा विवाद देखिएको छ। ललुङजङमा चीनले ९ वटा भवन बनाएपछि जिल्लास्थित सिडिओसहित सुरक्षा टोलीले स्थलगत अवलोकन गरेर उक्त भूमि चीनकै भएको निष्कर्ष निकालेको थियो। चिनियाँ दूतावास र केन्द्र सरकारले पनि उक्त भूमि चीनकै भएको बताउँदै आएको छ। गाउँपालिका अध्यक्ष र नेकपा सांसदको टोलीले पनि उक्त भूमि चीनकै भएको निष्कर्ष निकाल्दै रक्षामन्त्री र परराष्ट्र मन्त्रीलाई ब्रिफिङ गरिसकेको छ। तर कांग्रेसले भने सबैभन्दा फरक भूमि मिचिएको दाबी गरेको छ। भूमि मिचिएको निष्कर्षसहित आज स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दैछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्