
काठमाडौँ । कोभिड–१९ महामारीको त्राससँगै गत चैतदेखि बन्द भएको कालीगण्डकी करिडोर निर्माणको काम पुनः शुरु भएको छ । नेपालको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटदेखि पाल्पासम्मको सडकखण्ड निर्माणको काम शुरु गरिएको निर्माण पक्षले जनाएको छ ।
“कोरोनाको सङ्क्रमणको उच्च जोखिमका कारण चैतदेखि करिब सात महिनासम्म आयोजना नै ठप्प हुन पुग्यो”, निर्माण कम्पनी आशिष निर्माण सेवाका साइड इन्चार्ज कपिल गौलीले भन्नुभयो, “कोरोना महामारीका कारण सबै कामदार घर जाँदा काम ठप्प भएको थियो, अहिले केही कामदार ल्याएर निर्माणको काम पुनः थालेका छौँ ।” कोरोना जोखिमका कारण काम गर्न असहज परिस्थिति सिर्जना भएको भए पनि अब दशैँलगत्तै करिडोर निर्माणको कामले तीव्रता पाउने गौलीले बताउनुभयो ।
उत्तर–दक्षिण लोकमार्ग (कालीगण्डकी करिडोर)अन्तर्गत अर्गली–रामपुर (पाल्प) –गैँडाकोट १३२ किमी, रिडी–गुल्मी–बाग्लुङ ८८ किमी, बाग्लुङ–बेनी–जोमसोम ८७ किमी, जोमसोम–कोरला १०५ किमी पर्छ । रु ५ अर्ब ४७ करोडको लागतमा निर्माण शुरु भएको कालीगण्डकी करिडोरको गैँडाकोटदेखि पाल्पाको राम्दीसम्म १३२ किलोमिटरको काम अगाडि बढेको गौलीले बताउनुभयो । निर्माणको ठेक्का पाएको भारतीय कम्पनी इकेके इन्फ्रास्टक्चर लिमिटेडले नेपालको गौली ग्रुप र आशिष निर्माण सेवालाई सडक निर्माणको लागि पेटी ठेक्का दिएको थियो ।
पूर्वपश्चिम राजमार्गमा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित कालीगण्डकी चोकदेखि पाल्पा पिपलडाँडा राम्दीसम्मको १३२ किलोमिटर सडकको चौडाइ ११ मिटरको हुनेछ । निर्माण पक्षका साइट इन्चार्ज गौलीका अनुसार सो सडकमा सात मिटर कालोपत्र, एक-एक मिटरको किनार तथा एक-एक मिटरको नाला रहनेछ । ट्रयाक निर्माण सकिएको करिडोरको कालोपत्रको काम गत वैशाखबाट शुरु गर्ने तयारी गरिएको भए पनि कोभिड त्रासका कारण काम रोकिँदा एक वर्षपछि धकेलिएको आयोजनाले जनाएको छ ।
“आगामी २०७८ सालको वैशाखबाट हामीले उक्त सडकखण्डमा कालोपत्रको काम शुरु गर्ने गरी अन्य कामलाई तीव्रता दिँदैछौँ”, गौलीले भन्नुभयो, “अहिले पाल्पाबाट काम गर्दै गैँडाकोटतर्फ आएका छौँ, सो सडकको ८५ किलोमिटर सडक फराकिलो पार्ने काम सकिएको छ ।” कालीगण्डकी करिडोरअन्तर्गत पाल्पा–गैँडाकोट सडकखण्डलाई चारवटा खण्ड बनाएर निर्माणको काम भइरहेको छ । गैँडाकोटबाहेकको अन्य खण्डमा पहाड काट्ने तथा भर्ने काम भइरहेको गौलीले जानकारी दिनुभयो ।
कालीगण्डकी करिडोरको पाल्पा–गैँडाकोट खण्डलाई गैँडाकोटको कालीगण्डकी चोकबाट बुलिङटारको थामबँेसी, थामबेँसीबाट भारतीपुर, भारतीपुरबाट भलायटार र भलायटारबाट पाल्पा रामपुरको पिपलडाँडा गरी चार खण्डमा विभाजन गरेर काम अगाडि बढाइएको निर्माण पक्षले जनाएको छ । विसं २०७५ मङ्सिर १७ गतेबाट शुरु गरिएको गैँडाकोट पाल्पा खण्डको निर्माणकार्य २०७८ मङ्सिर १६ भित्र सक्नुपर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । यद्यपि कोभिड सङ्क्रमणका कारण काम ठप्प भएपछि आयोजनाको काम साढे एक वर्ष पछाडि धकेलिने आयोजनाले जनाएको छ ।
यस करिडोरको गैँडाकोट–पाल्पा सडकखण्डमा ३२ वटा पुल निर्माणकार्य अन्तिम चरणमा पुगेका कालीगण्डकी करिडोर निर्माण आयोजनाका सबइञ्जीनियर पदम अधिकारीले बताउनुभयो । काम शुरु भएको करिब दुई वर्ष बित्नै लाग्दा सो सडकको प्रगति ३० प्रतिशत मात्रै देखिएको अधिकारीले बताउनुभयो । सडक निर्माण समयमा नै सक्नका लागि आयोजनाको तर्फबाट निर्माण पक्षलाई निरन्तर सचेत गराइएको अधिकारीको भनाइ छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्