
यस वर्ष भने पर्वको अवसरमा हुने जमघट र भीडमा सङ्क्रमण जोखिम बढ्ने हुँदा यस्तो मेला आयोजन नगर्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए । जिल्लामा कोभिड–१९ सङ्क्रमण बढिरहेका बेला परेको दशैँ पर्व आ–आफ्नो घरपरिवारबीच मात्र मनाउन जिल्ला प्रशासन कार्यालयले शनिबार जारी गरेको निषेधाज्ञा आदेशमा उल्लेख छ । शक्तिपिठ र मन्दिरमा सम्बन्धित पुजारीले पर्वविशेषको विधिअनुसार नियमित पूजाआराधना मात्रै गर्न पाउने प्रजिअ कटुवालले बताए। सामूहिक बलि, मेला तथा जात्रा भने आयोजन गर्न पाइने छैन ।
जिल्लामा देवी शक्तिपीठ र मन्दिरमा मात्र नभई धेरैजसो गाउँनगर बस्तीमा देवी प्रतिमा स्थापित गरेर मेला आयोजन गर्ने परम्परा छ । यसपालि त्यस्ता मेला पनि आयोजना नगर्न जिल्ला प्रशासनले आदेशमा स्पष्ट पारेको छ । दशैँ पर्वभरि मदिरा बेचबिखन, सार्वजनिकस्थलमा सेवन गरिने काम दण्डनीय हुने आदेशमा उल्लेख छ । निषेधाज्ञाको उल्लंघन गर्नेलाई तत्काल कारबाही गरिने कार्यालयले जनाएको छ । जिल्लामा दिनदिनै कोभिड–१९ सङ्क्रमण बढिरहेकै छ । अहिलेसम्म कोरोना संक्रमितको संख्या एक हजार ६ सय ४८ पुगेको छ । -रासस