×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालगञ्ज विमानस्थल विस्तारको काम पुनः शुरु, रनवे र टर्मिनल भवन निर्माण हुँदै

PRIME CA

नेपालगञ्ज विमानस्थल विस्तारको काम पुनः शुरु, रनवे र टर्मिनल भवन निर्माण हुँदै

२६ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
नेपालगञ्ज । कोरोना महामारीका कारण छ महिनादेखि रोकिएको नेपालगञ्ज विमानस्थल विस्तारको काम गुरुयोजनानुसार पुनः शुरु गरिएको छ । हाल विमानस्थलको रनवे र टर्मिनल भवन निर्माणको काम भइरहेको छ । यसैगरी रनवे र टर्मिनल भवन निर्माणका लागि आवश्यक जग्गा खरिद प्रक्रियासमेत अगाडि बढाइएको नागरिक उड्डयन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख प्रेमनाथ ठाकुरका अनुसार कोभिड–१९ का कारण छ महिनादेखि विस्तारको काम रोकिएको थियो । उहाँका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २० वर्षे गुरुयोजना तयार पारेर सोही बमोजिम चार चरणमा काम भइरहेको छ । विमानस्थल विस्तारका लागि पहिलो र दोस्रो चरणमा गरी रु तीन अर्ब ५० करोड बढी बजेट खर्च हुने अनुमान गरिएको कार्यालय प्रमुख ठाकुरले बताउनुभयो । 
यसअघि नै नेपालगञ्ज विमानस्थलबाट दिल्ली उडानको प्रस्ताव गरिएको छ । सोही प्रस्तावबमोजिम विमानस्थलमा सबै प्रकारका अन्तर्राष्ट्रिय उडान गर्न मिल्ने गरी गुरुयोजनामा नक्शाङ्कन र डिजाइन गरिएको छ । शुरुवाती चरणमा एटिआर विमान उडान गर्न मिल्ने गरी नेपालगञ्ज विमानस्थल विस्तार गरिने छ भने दुई दशकभित्र एअर बस जस्ता ठूला विमान उडान भर्न मिल्ने गरी गुरुयोजनामा डिजाइन गरिएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालगञ्ज विमानस्थल विस्तार गुरुयोजनामा निर्माणको अनुमानित लागत रु १२ अर्बभन्दा बढी रहेको छ । योजनानुसार विमानस्थलको रनवे थ्री–सी क्याटोगरी अर्थात् एक हजार ५२४ मिटरबाट वृद्धि गरी फोर–सी क्याटेगरीमा दुई हजार ४४५ मिटर लामो बनाइने छ । त्यसो गर्दा एयर बस ३२० एनइओ मोडेलका ठूलो जेट विमान सहजै उडान गर्न सक्नेछन् । 
सामान्यतयाः दैनिक सरदर ४० उडान भर्दै आएको नेपालगञ्ज विमानस्थलबाट झण्डै एक हजार १०० यात्रु आउजाउ गर्दछन् । राजधानी काठमाडौँंस्थित् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको सबैभन्दा व्यस्त उक्त विमानस्थलका लागि नयाँ गुरुयोजनानुसार अगाडि बढ्दा १०० बिघा जग्गा थप आवश्यक पर्नेछ । हाल १६६ बिघा क्षेत्रफल रहेको नेपालगञ्ज विमानस्थलका लागि थप १०० बिघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुने जनाइएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: