
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । यसपालीको दशैंमा खाता रहेको बैंकबाट मात्रै नयाँ नोट पाइने भएको छ । कोरोना भाइरसको महामारीलाई मध्येनजर गरी राष्ट्र बैंकले ग्राहकले आफ्नो खाता रहेको बैंकबाटै नयाँ नोट साट्न पाउन व्यवस्था गर्न लागेको हो । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार नयाँ नोट राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिनेछ र आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामार्फत सर्वसाधारणले लिन सक्नेछन्।
यसअघिका दशैंमा राष्ट्र बैंकले निश्चित शाखाहरु तोकेर नयाँ नोट वितरण गर्दै आएको थियो । तर यस वर्ष भने शाखा तोकेर नयाँ नोट वितरण गर्ने अवस्था छैन । पछिल्लो समय राष्ट्र बैंकले दशैँ, गाईजात्रा, गौरा पर्व, तीज, उभौली, नयाँ वर्ष, छठलगायतका पर्वमा समेत नयाँ नोट वितरण आएको थियो ।