Skip to content
LAXMI SUNRISE BANK

राजधानी सार्ने प्रस्तावप्रति रुपन्देहीका उद्योगी व्यवसायी आक्रोशित, दिए यस्तो चेतावनी !

अर्थ सरोकार

रुपन्देही । सरकारले प्रदेश नं ५ को राजधानी दाङ लैजाने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरेपछि रुपन्देहीका उद्योगी व्यवसायी आक्रोशित भएका छन् । आर्थिक, साँस्कृतिक र पर्यटकीय सबै हिसाबले महत्वपूर्ण मानिएको क्षेत्रमा भएको अस्थायी सदरमुकामलाई नै राजधानी घोषणा नगरी दाङ लैजाने प्रस्ताव ल्याएपछि यहाँका उद्योगी व्यवसायी आक्रोशित भएका हुन् । 
सरकारले आज प्रदेशसभाबाट राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव पास गर्ने तयारी गरिरहेका बेला उनीहरुले प्रस्ताव पास भए नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट आफूहरु राजिनामा दिने घोषणासमेत गरेका छन् । उद्योगी व्यवसायीले आज बुटवलमा पत्रकार सम्मेलन गरी प्रदेश राजधानी रुपन्देहीमै राख्न माग गर्दै प्रदेशसभाबाट सार्ने निर्णय भए पार्टीबाट राजिनामा दिने चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसङ्घका केन्द्रीय सदस्य तथा पार्टीका जिल्ला सदस्य एजाज आलमले जनभावना विपरीत राजधानी सार्ने प्रस्ताव ल्याएको भन्दै राजधानी दाङ गए पार्टीबाट राजिनामा दिने घोषणा गर्नुभयो । उहाँले दुई हजार २४९ जना सदस्यले पार्टीबाट राजिनामा दिने तयारी गरेको जानकारी गराउनुभयो ।
यस्तै रुपन्देही उद्योग सङ्घका अध्यक्ष बाबुराम बोहराले उद्योगी व्यवसायीको मर्मविरीत राजधानी सार्ने तयारी गरिएको भन्दै आपत्ति जनाउनुभयो । पत्रकार भेटघाटमा पर्यटन व्यवसायी माधव नेपाल, व्यवसायी मोतिलाल पाण्डे, होटल व्यवसायी समुद्र जिसीलगायतले प्रदेश राजधानी सार्ने निर्णय मान्य नहुने भन्दै उद्योगी व्यवसायीको माग सुनुवाइ नभए पार्टीमा बस्नुको कुनै औचित्य नभएको बताउनुभयो । -रासस
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK