
बागलुङ । चाडबाड मुखैमा आइपुग्दासमेत यहाँ सुपथ मूल्य पसल खुल्न सकेको छैन । चिनी अभाव हुँदा पसल सञ्चालन गर्न नसकिएको ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ बागलुङ कार्यालयले जनाएको छ । अघिल्ला वर्षहरुमा यतिञ्जेल पसल खुलिसक्थ्यो । ठूला पर्वलाई लक्षित गरी सञ्चालन गरिने सुपथ मूल्य पसलबाट उपभोक्ताले थोरै भए पनि राहत पाउँथे । “चिनी नआएकाले पसल खोल्न सकिएन”, कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले भन्नुभयो, “संस्थानमै चिनीको अभाव छ, स्टक भएका केही ठाउँमा पसल खुले पनि पर्याप्त छैन ।”
उहाँले भारतबाट चिनी खरिदको प्रक्रिया शुरु भएकाले जिल्लामा आउँदासाथ छोटो समयका लागि भए पनि सूपथ पसल सञ्चालन गरिने बताउनुभयो । “चिनी आउन अझै साता दिन बढी लाग्ने देखिन्छ, ढिलो गरी भए पनि उपभोक्तालाई सेवा दिन प्रयासरत छौँ”, उहाँले भन्नुभयो । चिनी उपलब्ध भएपछि भौतिक दूरी कायम गरी बिक्रीको प्रबन्ध मिलाइने प्रमुख श्रेष्ठले उल्लेख गर्नुभयो । कार्यालयले बर्सेनि चाडबाडलाई लक्षित गरी बजार भाउभन्दा सस्तोमा चिनी, नुन बिक्री गर्दै आइरहेको छ । चिनीको भण्डारण रित्तिए पनि नुनको भने अभाव छैन । पसल खोलेर नुनमात्र बेच्दा प्रभावकारी नहुने कार्यालयको ठहर छ । सुपथ मूल्य पसल सञ्चालनमा आउँदा दैनिक सयौँ उपभोक्ताको लाम लाग्छ । भीड व्यवस्थापन र सेवा प्रवाहमा कर्मचारीलाई नै हम्मेहम्मे पर्छ । ज्यालादारीमा अतिरिक्त कर्मचारी नै राखेर सेवा दिने गरिएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ । पसलमा करोडौँको कारोवार हुन्छ ।
राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले चिनी ल्याउन थप पहल गर्नुपर्ने बताउनुभयो । “बजारमा चिनीको भाउ बढेको छ, यस्तो बेला सुपथ पसल खोल्न सके उपभोक्ताको हितमा हुन्थ्यो”, उहाँले भन्नुभयो, “हामीले पनि साल्ट ट्रेडिङ र जिल्ला प्रशासनलाई यो विषयमा ध्यानाकर्षण गराइरहेका छौँ ।” काठमाडौँलगायत ठाउँमा खाद्य संस्थान र साल्ट ट्रेडिङले सुपथ पसल खोलेर उपभोक्तालाई सेवा दिइरहेको उहाँको भनाइ छ । दशैँअघि खुलेको पसल छठसम्म खुला हुने गर्छ । अध्यक्ष श्रेष्ठले चाडबाडका बेला हुने कालोबजारीलाई रोक्न बजार अनुगमन थालिएको बताउनुभयो । उहाँले उपभोक्ताको हित विपरीत कार्य गर्ने जो कोहीलाई कारवाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाउनुभयो । –रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्