
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण बन्द भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवर्धित आयोजनामा कार्यरत २७ कर्मचारीमा मङ्गलबार साँझ एकै पटक कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि आयोजनाको निर्माण बन्द गरिएको हो।
आयोजनामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण भएकाले जोखिम र कामदारको अभावले आयोजनाको निर्माण बन्द गरिएको आयोजनाका राजेन्द्र वस्तीले बताए। आयोजनाको अधिकांश निर्माण सम्पन्न भई विद्युतगृहको काम बाँकी छ। हालसम्म ९८ प्रतिशत निर्माण सम्पन्न भइसकेको र आगामी मङ्सिरदेखि बिजुली बाल्ने तयारी भए पनि कोभिड १९ ले प्रभाव पार्ने देखिएको आयोजनाले जनाएको छ।
आयोजना विसं २०७१ देखि थालनी हुँदै आएको छ। विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि भूकम्प, नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ। सम्झौताअनुसार आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने समय गत चैत ३० गतेसम्म थियो।
निर्माण लम्बिँदा लागत ६७ करोड ६० लाख बढी लाग्ने अनुमान आयोजनाको छ। शुरुमा तीन अर्ब ९६ करोड लगानीमा सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल रु चार अर्ब ६३ करोड ६० लाख लाग्ने अनुमान आयोजनाले गरेको छ। आयोजनाको लागत प्रति मेगावाट १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ।
आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ। आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार सात सय मिटर लामो भूमिगत सुरुङ र त्यत्तिकै लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युतगृहमा झारिने छ।
आयोजनामा १२ दशमलव ५ का दुई वटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ। आयोजनाको बिजुली हिउँदमा रु ८ र पैसा ४० तथा वर्षायाममा चार र पैसा ८ हुने गरी प्रवर्धक कम्पनी लिबर्टी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) भएको छ। -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्