
पेन्सनधारी धेरै नागरिक झुलाघाट पुगेकाले आफूहरुलाई निकै समस्या भएको पाटन नगरपालिकाका ८२ वर्षीय बलदेव पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “घण्टौँसम्म लाइनमा बस्दा पनि पालो नआउने समस्या छ ।” पेन्सनधारीका लागि नाका खुले पनि नाकामा व्यवस्थित आवतजावत गर्न नसक्दा समस्या भएको भारतीय नागरिक शङ्कर खडायतले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच दिनका लागि नाका खुलेको छ । धेरै मानिस एकैदिन आएका छन् । व्यवस्थित हिसाबले पठाउन नसक्दा समस्या भएको छ ।”
सीमावर्ती भारतीय बजार झुलाघाट र नेपाली बजार झुलाघाटमा पेन्सनधारीको भीड लागेको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “बैंकले समेत नेपालमा नचल्ने झुत्रा नोट पेन्सनधारीलाई दिएको छ ।” पेन्सनधारीका समस्या समाधानका लागि सोमबारदेखि झुलाघाट नाका पाँच दिनका लागि खुलेको छ । नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खुलेको हो । नाका आजसम्म खुला रहनेछ । बैतडीमा एक हजार २०० भारतीय पेन्सनधारी नेपाली नागरिक छन् । उनीहरुले गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन् । उनीहरुले भारतीय बैंकमार्फत आफ्नो पेन्सनवापतको रकम बुझ्ने गर्दछन् । -रासस