
टीकापुर । कैलालीको टीकापुर–१ बनगाउँका सीताराम चौधरीले फूलखेतीबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । तीन वर्षअघि जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा फूलखेती गर्नुभएका चौधरीले फूलको बिक्रीबाट वार्षिक रु छ लाख आम्दानी गर्दै आनुभएको छ । सयपत्री फूलको खेती गर्नुभएका उहाँले दुई सिजनमा फूल बिक्री गर्नुहुन्छ । ‘‘दुई लटमा बिक्री गर्छु, साउन, भदौमा रोपेको फूल तिहारको समयमा बिक्री हुन्छ भने फागुनमा रोपेको फूल चैतबाट बिक्री गर्न थालिन्छ’’, उहाँले भन्नुभयो, ‘‘यो सयम तिहारलाई मात्र लक्षित हुन्छ । यो समयभन्दा चैतमा उत्पादन भएको फूलबाट बढी आम्दानी हुन्छ । त्यतिखेर फूलको बढी मूल्य पाइन्छ ।’’
सीतारामको फूलबारीमा पाँच जना घरका सदस्य र अन्य १२ जना कामदारले रोजगार पाएका छन् । ‘‘फूलबारीमा सबै महिला कामदार छन् । फूल रोप्ने, गोडमेल गर्ने, मल हाल्ने र यतिखेर फूल टिप्ने, माला उन्ने र प्याकिङ गर्ने सबै काम उनीहरुले नै गर्छन्’’, उहाँले भन्नुभयो, ‘‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीले बजार पाउँदैन की भन्ने चिन्ता थियो, तर अहिले माग धान्नै मुश्किल भएको छ ।’’
भाइटीका अर्थात तिहार नजिकिएपछि चौधरीको फूलबारीमा फूलका माला बनाउने काम भइरहेको छ । बारीबाटै प्रतिकिलो फूल रु.चार सय र बुनेको प्रतिमाला रु एक सयका दरले बिक्री भइरहेको उहाँको भनाइ छ । “तिहार नजिकिएकाले फूल प्याकिङ गरेर पठाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो, ‘‘प्याकिङ गरेर पठाएको फूल १० दिनसम्म राख्न सकिन्छ । ’’ तिहारलाई लक्षित गरेर विभिन्न जिल्लामा फूल र माला पठाउन थालिसकेको उहाँले बताउनुभयो ।
यो वर्ष आठ कठ्ठा जग्गामा फूलखेती गर्नुभएका चौधरीले फूलखेतीका लागि आवश्यक पर्ने बीउ भारतबाट मगाउने गरेको बताउनुभयो । अर्डर गरेमा भारतबाट टीकापुरमै बीउ आइपुग्छ, उहाँको भनाइ छ । यहाँ उत्पादन भएको फूल जिल्ला मात्र नभइ, बर्दिया, बाँके र दाङसम्म जान्छ । यसपटक बझाङ जिल्लाबाट पनि माग आएको उहाँको भनाइ छ ।
सीतारामले पुष्पखेती शुरु गरेपछि हरेक कार्यक्रम वा सभासमारोहमा प्लाष्टिकका माला प्रयोग घटेको छ । ‘‘अतिथिलाई स्वागत पनि फूलका मालाले गर्न थालिएको छ’’, स्थानीयवासी छपिलाल चौधरीले भन्नुभयो, ‘‘टीकापुर, जानकी, जोशीपुरलगायत स्थानीय सरकारले पनि खादाको सट्टा माला प्रयोग गर्न थालेका छन् ।’’टीकापुर नगरपालिकाका कृषि शाखा प्रमुख तुल्सीराम सुवेदी यस्तो खालको व्यवसायलाई स्थानीय सरकारले सघाउन नसकेको बताउँदै नयाँ खालको व्यवसाय गर्नेलाई सघाउने नीति भने लिएको बताउनुभयो । –रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्