काठमाडौँ । भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ । नेपाल भ्रमणमा रहनुभएका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा ती स्वास्थ्य सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा नेपाली सेनाले नेपालमा निर्मित कोभिड–१९ जोखिम नियन्त्रणका लागि प्रयोग हुने एक लाख थान मास्क भारतीय सैनिकलाई सहयोगस्वरुप उपलब्ध गराएको छ । उक्त मास्क प्रधानसेनापति थापाले भारतीय सेनाध्यक्ष नरवणेलाई हस्तान्तरण गर्नुभयो ।
प्रधानसेनापति थापाले भारतीय सेनाध्यक्ष नरवणेलाई समारोहमा उपहारस्वरुप शान्तिका प्रतीक गौतमबुद्धको प्रतिमासमेत प्रदान गर्नुभयो । यसअघि स्थलसेनाध्यक्ष नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहारसहित श्रद्धाञ्जलि अर्पण गर्नाका साथै जङ्गीअड्डा परिसरमा ओखरको बिरुवा रोप्नुभयो ।
त्यसलगत्तै प्रधानसेनापति थापा र स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता भएको थियो । उक्त भेटमा दुवै सेनापतिबीच आपसी हित र पारस्परिक सम्बन्धका विविध पक्षमा छलफल भएको सेनाले जनाएको छ । उक्त छलफलपछि भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा प्रस्तुतीकरण गरिएको थियो ।
नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप उहाँ नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आउनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई आजै सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुनुहुन्छ । रासस