×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डोटीमा बिकेनन् सुन्तला र मौसम, किसानले गरे यस्तो माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डोटीमा बिकेनन् सुन्तला र मौसम, किसानले गरे यस्तो माग

Artha Sarokar

२९ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

डोटी ।  डोटी जिल्लामा उत्पादन हुने सुन्तला, मौसम, कागती, अमिलोलगायत वस्तुको बजारीकरण गरिदिन यहाँका किसानले माग गरेका छन् । ती वस्तुले उचित बजार नपाउँदा वर्षेनी खेर जान थालेपछि उनीहरुले सो माग गरेका हुन् । यहाँका ग्रामीण क्षेत्रमा रहेका किसानले निकै मेहनत गरी फलाएका वस्तु समयमै बजारमा पु¥याउन नसक्दा र उचित मूल्य नपाउँदा बारीमै सडेर तथा कुहिएर जाने गरेका छन् । यस वर्ष कोभिड–१९ का कारणले अझ ती वस्तुले बजार नपाउने अवस्थामा रहेका स्थानीयवासी बताउँछन् । 
कोरोनाका कारण यहाँका अधिकांश गाउँघरमा आवतजावतमा समेत बन्द छ । किसानले उत्पादन गरेका वस्तु खासै बजारसम्म आउन नपाएको बडिकेदारका किसान प्रकाशबहादुर मौनीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोना त्रासले हामी घरभन्दा बाहिर जादैनौँ, यस्तो अवस्थामा कसरी सुन्तला, कागती बोकेर बजार जानु । बरु घरैमा किन्न कोही आए बेच्छौँ, नत्र यस वर्ष त्यत्तिकै खेर जान्छ, ज्यानभन्दा ठूलो केही छैन् ।” दुई नगरपालिका तथा सात गाउँपालिका रहेको जिल्लामा बडिकेदार, जोरायल तथा बोगटान फुड्सिल गाउँपालिका सुन्तला, कागती, अमिलो, गहत, मास तथा भटमास उत्पादन हुने क्षेत्रका रुपमा परिचित छन् । अहिले सुन्तला, कागती, मौसम तथा अमिलोको मौसम भएकाले यहाँ प्रायः सबै गाउँघरमा लटरम्म फलेका देखिन्छन् । किसानले फलाएका वस्तु समयमै बजारसम्म पु¥याउन नसकिँदा खेर जाने अवस्था सिर्जना भएको जोरायल–५ आलीबाटाका चक्रबहादुर भाटले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “गाउँ भरीमा सुन्तला, मौसम, अमिलो र कागती फलेका छन् बजारसम्म पु¥याउन सकिँदैन बारीमै कुहिन्छन् ।” किसानले उत्पादन गरेका सुन्तला मौसमले बजार नपाउँदा कृषक मारमा परेका छन् । उत्पादन क्षेत्र नजिक सङ्कलन केन्द्र, बजार, यातायात तथा बजारीकरणको अभावले कृषकले उत्पादन गरेका मौसम तथा बेमौसम फलफूल तथा तरकारी खेर जाने अवस्थामा पुग्ने गरेको बडिकेदार–१ बिपिनगरका स्थानीय प्रेमबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “उत्पान गरेर के गर्नु उत्पादन हुने क्षेत्रमा सङ्कलन केन्द्र, बजार, यातायात छैन, बोकेर ल्याउन समस्या हुने र महङ्गो पर्छ, अनि बारीमै कुहिन्छ ।” अदुवा, बेसार, सुन्तला, लसुन, कागती, अमिलो, मुला, भटमास, मौसम जस्ता कृषि उपजले बजार नपाउने र बजार पाए पनि विचौलीयाका कारण मूल्य नपाउने भएकाले जिल्लाका कृषक निरास हुने गरेको उहाँको भनाइ छ । 
कृषि उत्पादनसँगै बजारीकरणका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने किसानको माग रहेको छ । यहाँका किसानले उत्पादन गरेका चिज वस्तु नेपालका विभिन्न शहरदेखि छिमेकी मुलुक भारतका खटिमा, पलिया, बरेली, पञ्जाब, खटिमा, लखनउ तथा गौरीफाण्टाका शहरमा समेत पुग्ने गरेको जोरायल गाउँपालिका–६ का स्थानीय चित्रराज भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले उत्पादन गरेका वस्तु विदेशसम्म पुग्छन्, स्वदेशमा यसको महत्व छैन ।”
कृषि ज्ञान केन्द्र सिलगढीका अनुसार जिल्लामा प्रत्येक वर्ष कम्तीमा पनि एक करोड मूल्य बराबरको सुन्तला, मौसम तथा कागती बिक्री वितरण हुने गरेको छ । किसानले उत्पादन गरेका सुन्तला, कागती, अमिलो, गहत, मास तथा भटमासलगायतका वस्तुको बजारीकरण गर्न तथा उत्पादन गरिने ठाउँमा सङ्कलन केन्द्र सञ्चालनका लागि पहल भइरहेको कृषि विकास निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “उत्पादित क्षेत्रमा सङ्कलन केन्द्र खोल्नका लागि विषयमा पहल भइरहेको छ, केही ठाउँमा खोली सकेका छौँ, केही ठाउँमा निकट भविष्यमै खोल्ने तयारीमा छौँ, उत्पादित वस्तु कुहिर खेर जान दिँदैनौँ ।” कृषि उत्पादनको बजारीकरणका लागि सरोकारवालाले कृषि उपज सङ्कलन केन्द्र बनाएर त्यसको बजारी करणका लागि पहल गरिदिए यहाँका कृषक आफ्नो पेशाप्रति थप आकर्षित हुनुका साथै उनीहरुको आयस्तरमा समेत वृद्धि हुने देखिन्छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी