कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–७ का उमेश धामी गत असारमा मुग्लानमा समस्यामा पर्नुभयो । धन कमाउने सपनामा दुई वर्षअघि मलेशिया पुगेका धामी कोरोना कहरमा आफू कार्यरत कम्पनी बन्द भएर रोजगारी गुमेपछि केही समय बिचल्लीमा पर्नुभयो ।आर्थिक अवस्था कमजोर भएपछि पढाइ छाडेर मलेशिया पुगेका धामी स्वदेश फर्किएर आयमूलक काममा सक्रिय भइसक्नुभएको छ । “विदेशको दुःखभन्दा स्वदेशमै थोरै मेहनतमा पनि गुजारा चलाउन सकिँदो रैछ भन्ने बल्ल थाहा भयो”, उहाँले भन्नुभयो, “परिवारमा बसेर गाउँमै व्यवसाय गरेर जीविका चलाउने गरी अघि बढेको छु ।” यहाँको वेदकोट नगरपालिकाले कोरोनाका कारण रोजगारी गुमाएकाका लागि कोभिड–१९ प्रतिक्रिया र सामाजिक, आर्थिक पुनःप्राप्ति परियोजना कार्यक्रम ल्याएपछि आफूलाई उत्साह थपिदिएको धामीको भनाइ छ ।
कोरोना प्रभावितलाई रोजगारीको सिर्जनासँगै कृषिमा व्यवसायिकीकरणका लागि नगरपालिकाले विभिन्न वडालाई पकेट क्षेत्र निर्धारण गरेपछि उहाँको वडा लसुन पकेट क्षेत्रमा परेपछि व्यावसायिकरूपमै लसुन खेतीमा लाग्नुभएको छ । नगरपालिकाको सहयोग पाएपछि उहाँले चार कठ्ठा जग्गामा लसुन खेती गरिरहेको बताउनुभयो ।
त्यसैगरी कोरोना महामारीकै बीच भारतको दिल्लीबाट गत वैशाखमा स्वदेश फर्किएका वेदकोट–८ का लालीराम कामी सीमा नाका र क्वारेन्टाइन बसाइको दुःख सम्झेर रोजगारीका लागि भारत नजाने निष्कर्षमा पुग्नुभयो । “लसुन खेतीका लागि नगरपालिकाबाट सबै सहयोग पाएको छु अब यही कृषि गर्छु”, कामीले भन्नुभयो, “अर्काको मजदुर हुनुभन्दा कृषि र पशुपालनमा लाग्छु ।” तीन कठ्ठा जग्गामा लसुन खेती गरिरहनुभएका उहाँले विस्तारै खेती विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो ।
वेदकोट नगरपालिकाले नगरका विभिन्न वडामा कृषि पकेट क्षेत्र निर्धारण गरी कोरोना प्रभावितलाई स्वरोजगार बनाउन कोभिड–१९ प्रतिक्रिया र सामाजिक, आर्थिक पुनःप्राप्ति परियोजना कार्यक्रम लागू गरेपछि रोजगारी गुमाएका थुप्रै युवा कृषिमा लागेका छन् । कोरोना प्रभावितलाई रोजगारीको सिर्जनासँगै कृषिमा व्यवसायिकीकरणका लागि नगरपालिकाले पकेट क्षेत्रका आधारमा विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाको वडा नम्बर १ र २ मा आलु खेती, ३ र ४ मा च्याउ खेती, ५ र ६ मा खुसार्नी खेती, ७ र ८ मा लसुन खेती र वडा नम्बर ९ र १० मा प्याज खेती पकेट क्षेत्र बनाएर बेरोजगार युवालाई कृषिमा लाग्न तालीम र प्राविधिक सहयोग गरिरहेको छ । नगरपालिकाले युवालाई पहिलो चरणको तालीमसमेत सम्पन्न गरिसकेको जनाएको छ
दैनिक मजदुरी गरेर जीविकोपार्जन गरिरहेका पनि कोरोनाका कारण रोजगारी गुमाएपछि च्याउ खेतीमा लागेका छन् । वेदकोट–३ स्थित आशापुर मुक्तकमैया शिविरमा च्याउखेतीका लागि नगरपालिकाले तालीम र प्राविधिक सहयोग गरेपछि मुक्तकमैया महिला च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । दशैँअघि च्याउको बेर्ना राखेकी आशापुर शिविरकी रामदुलारी चौधरीले हरेक तेस्रो दिन रु पाँच हजार आम्दानी गरिरहेको बताउनुभयो । “पहिला मजदुरी गरेर खर्च चल्थ्यो, बन्द भएपछि घर खर्च चलाउनै समस्यामा भयो”, उहाँले भन्नुभयो, “अहिले हरेक तेस्रो दिन च्याउ बेच्न महेन्द्रनगर बजारसम्म पुग्छु, रु पाँच हजारसम्म आम्दानी हुन्छ ।”
उहाँले प्रतिकिलो रु २५० का दरले च्याउ बिक्री गर्ने गरेको बताउनुभयो । यस वर्ष ७० पोका बेर्ना राखेको बताउँदै उहाँले यो वर्ष रु एक लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको सुनाउनुभयो । “च्याउबाट राम्रो आम्दानी हुने रहेछ अर्को वर्ष थप खेती विस्तार गर्छु”, चौधरीले भन्नुभयो, “अहिले त घर खर्च यसैबाट चलाएकी छु ।”
त्यस्तै आशापुर शिविरकै आशादेवी डगौराले पनि च्याउ खेतीबाट घरखर्च चलेको बताउनुभयो । दम्पती नै मजदुरमा गएर खर्च चलाउँदै आए पनि कोरोनामा काम नपाइएको उहाँको भनाइ छ । “अहिले हामी दुवै कृषिमा लागेका छौँ, कमाइ रामै्र छ”, उहाँले भन्नुभयो । नगरपालिकाले यस वर्ष मात्रै कोरोना प्रभावित भएका युवा तथा विभिन्न नागरिकसहित ४०५ जनालाई कृषि क्षेत्रबाटै रोजगार बनाउने योजना बनाएको नगरपालिकाले जनाएको छ ।
त्यसका लागि नगरपालिकाको रु एक करोड र युएनडिपीको रु एक करोडको लगानीमा कोभिड–१९ प्रतिक्रिया र सामाजिक, आर्थिक पुनःप्राप्ति परियोजना कार्यक्रम लागू गरिएको परियोजनाका संयोजक तथा स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले बताउनुभयो । “कोरोना प्रभावित, एकल महिला, दलित र जनजातिलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “यो कार्यक्रमअन्तर्गत ४०५ लाई प्रत्यक्षरूपमा उद्यमी बनाउन लागेका छौँ ।” कोरोनाका कारण विदेशबाट रोजगारीका गुमाएर स्वदेश फर्केका युवालाई स्वदेशमै रोजगारीको सिर्जना गरेर कृषिमा आत्मनिर्भर हुनका लागि नगरपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको नगरपालिका उपप्रमुख सुशीला सिंहले बताउनुभयो ।
“नगरपालिकालाई कृषिमा आत्मनिर्भर गर्नका लागि वडालाई पकेट क्षेत्र छुट्याएका छौँ”, उपप्रमुख सिंहले भन्नुभयो, “यसले रोजगारीको सिर्जना हुनुका साथै आयस्तरमा समेत वृद्धि हुनेछ ।”रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्