- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । माउन्टेन इनर्जीको आईपीओ बुधबार बिहान १० बजे बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले कम्पनीको आइपीओ बुधबार बिहान १० बजे बाँडफाँट हुने जनाएको हो । कम्पनीले सर्वसाधारणका १८ लाख ३० हजार २६५ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । जसमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता सेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ । जुन मागभन्दा ७.६१ गुणा धेरै हो ।
कम्पनीको आइपीओ १ लाख ८३ हजार जना आवेदकले मात्र १० कित्ताको दरले सेयर पाउने छन् । हालसम्मको तथ्याँक अनुसार आइपीओमा आवेदन गर्ने बाँकी ४ लाख ९१ हजार जना आवेदकको भने हात खाली हुने भएको छ।
कम्पनीले ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्काशन गरेको थियो ।
यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिएको छ । बाँकी १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयर भने सर्वसाधारण लगानीकर्ताको लागि बिक्री खुल्ला गरिएको थियो।