
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले पर्यटनमा साझेदारी बढाउने लक्ष्यसाथ धार्मिक पर्यटन पुनः उत्थान परिचयात्मक भ्रमण राखिएको बताउनुभयो । नवलपुर क्षेत्रलाई सिधा पोखरासँग सडक सञ्जालले जोड्नु अपरिहार्य भएको बताउँदै उहाँले चितवन राष्ट्रिय निकुञ्जका कारण देखिएको समस्यालाई चाँडो समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष डम्बरबहादुर केसी, सोमबहादुर थापा र चिरञ्जीवी पोखरेलले यस क्षेत्रका धार्मिक पर्यटकीय गन्तव्यको मौलिकता कायम गर्दै पर्यटन बजारमा उपयोग गर्नुपर्ने औंल्याउनुभयो । नवलपुरलाई प्रदेशको राजधानी पोखरासँग सहज रुपमा जोड्नका लागि चितवन राष्ट्रिय निकुञ्जका कारण मध्यवर्तीका नाममा परेको समस्यालाई दीर्घकालीन समाधान गर्नुपर्नेमा जोड दिँदै उहाँहरूले सडक सञ्जाल सहज भएसँगै पर्यटकीय साझेदारीमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कतिपय निकुञ्जमा बीच भागबाटै सडक सञ्चालनमा आएको अवस्थासमेत रहेको उल्लेख गर्दै उहाँहरूले यस क्षेत्रको विकासका लागि विद्यमान बाधा अड्चन हटाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा त्रिवेणी विनय नगरपालिका–६ का वडाध्यक्ष प्रितम गुरुङ, गजेन्द्रमोक्षश्रम धामका कृष्ण प्रपन्नाचार्य, होटेल व्यवसायी सङ्घ नवलपुरका अध्यक्ष सन्तोष राना मगर, नवलपुर होटेल व्यवसायी सङ्घका उपाध्यक्ष प्रकाश कुँवर र नन्दपुर मिलिजुली होमस्टेका अध्यक्ष ताराप्रसाद चौधरीलगायतले त्रिवेणी धामदेखि मुक्तिनाथसम्मका धार्मिक पर्यटकीयस्थललाई समेट्दै विकास गर्न सकेमा राम्रो उपलब्धि हासिल हुने धारणा राख्नुभयो ।
त्रिवेणीबाट पोखरा आवागमन सहज बनाउन सडक सञ्जाल चाँडै जोडिनुपर्ने उल्लेख गर्दै उहाँहरूले चितवन राष्ट्रिय निकुञ्जका कारण देखिएको समस्यालाई राज्यस्तरबाट चाँडै समाधान खोजिनुपर्ने बताउनुभयो । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ, गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक बाबुराम पाण्डेका अनुसार भ्रमण टोलीले आज नवलपुरकै मौलाकालिका, सास्वतधाम र तनहँुको देवघाटलगायतका धार्मिक पर्यटकीय गन्तव्य पुगी सरोकारवालासँग अन्तक्र्रिया गर्नेछ । -रासस