
भक्तजनलाई दुई मिटरको दूरीमा लाममा राखी दर्शन गर्ने व्यवस्था मिलाइएको छ । भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको कोषले जनाएको छ । हाललाई मन्दिरको पश्चिम ढोकाबाट प्रवेश गरी दर्शनपछि पनि सोही ढोकाबाट फर्कने व्यवस्था मिलाइएको छ ।
दर्शनका लागि पशुपतिनाथ मन्दिर खुला गरिए पनि अझै केही समय भक्तजनले रसिद काटेर गरिने विशेष पूजा गर्न पाउने छैनन् । यसैगरी मूल मन्दिर परिसरमा दैनिक हुने गरेको भजनलगायत गतिविधि पनि क्रमशः खुला गरिने कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो । नौ महिनापछि भक्तजनका लागि आजदेखि दर्शन गर्न खुला गरिने भएपछि मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमासहित विशेष पूजा गर्नुभएको थियो । कोरोना महामारीबाट मुक्ति, देश एवं विश्व शान्तिको सङ्कल्पसहित मूल मन्दिर, परिसरका देवीदेवताको पनि पूजा आराधना गरिएको थियो । -रासस