×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१५ दिनसम्म पनि रोकिएन उखु किसानहरुको प्रदर्शन, भन्छन् ‘रकम पाउने आशैआशले पटक-पटक काठमाडौँ आयौं’ (भिडियो)

PRIME CA

१५ दिनसम्म पनि रोकिएन उखु किसानहरुको प्रदर्शन, भन्छन् ‘रकम पाउने आशैआशले पटक-पटक काठमाडौँ आयौं’ (भिडियो)

अर्थ सरोकार

१२ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरु विगत १५ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन । तरपनि सरकारले उनीहरुको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन । यो बीचमा केही उद्योगीले किसानको खातामा रकम पठाएका छन् । तर सरकारले तोकेको भन्दा पनि कम दरमा भुक्तानी पाएको किसानहरुको गुनासो छ । त्यसैले सबै किसानको खातामा सबै भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने किसानहरु बताउँछन् । 
हलो, उखु र विभिन्न माग लेखिएका प्लेकार्ड लिएर विगत १५ दिन देखि उखु किसानहरु आफ्नो पसिनाको भुक्तानी पाउनुपर्ने माग गर्दै केन्द्रीय राजधानीको माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका छन् । विगत सात वर्ष देखिको भुक्तानी मिल सञ्चालकहरुले नदिएपछि किसानहरु निर्णयक आन्दोलन गर्न भन्दै काठमाडौं आएका हुन् । गत वर्ष पनि उनीहरुले यस्तै आन्दोलन गरेका थिए । तर सरकारको रोहबरमा किसान र उद्योगीबीच एक महिना भित्र भुक्तानी दिने सहमति भएपछि किसान घर फर्किएका थिए ।
तर एक वर्ष सम्म पनि भुक्तानी नपाएपछि तिनै किसान फेरी काठमाडौं आई आन्दोलन गरिरहेका छन् । १५ दिन सम्म आन्दोलन गर्दापनि सरकार नसुनेझैं गरी बसिरहेको छ । किसानहरु आन्दोलन गरेको देखेपछि केही उद्योगीले किसानको खातामा रकम पठाउन थालेका छन् । तर सरकारले तोकेको मूल्य भन्दा पनि कम दरमा भुक्तानी पठाएको किसानहरुको गुनासो छ । उखु किसान संघर्ष समितिका सदस्य मायासंकर प्रसाद यादवले सरकारले प्रति क्वीन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा मूल्य तोकेको भएपनि उद्योगीहरुले ४ सय ३५ रुपैयाँ मात्रै भुक्तानी दिएको गुनासो गर्नुभयो । सबै किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी नपाउँदा सम्म आन्दोलन जारी राख्ने पनि उहाँले बताउनुभयो ।
चिनी उद्योगीहरुबाट उखु किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । विगत सात वर्ष देखिको भुक्तानी पाउन बाँकी रहेको आन्दोलनमा सहभागि किसानहरुले बताएका छन् । आफूहरुले दुःख गरेर उब्जाएको उखुको भुक्तानी नपाउँदा सम्म आन्दोलनलाई जारी राख्ने किसानहरुले बताए । आन्दोलनरत किसानहरुले ‘सरकार तिमी कहाँ छौ, हामी किसान यहाँ छौं’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘किसान मार्न पाइदैन’, ‘हाम्रो रकम भुक्तानी गर’, ‘किसानलाई क्षतिपूर्ति देउ’ लगायतका नारा समेत लाएका थिए । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: