×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विर्तामोडस्थित भूमाफियाले हत्याएको गुठीको करोडौँ मूल्यको दुई बिघा जग्गा २३ वर्षपछि फिर्ता

PRIME CA

विर्तामोडस्थित भूमाफियाले हत्याएको गुठीको करोडौँ मूल्यको दुई बिघा जग्गा २३ वर्षपछि फिर्ता

अर्थ सरोकार

१४ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

झापा । भूमाफियाको चलखेलका कारण नक्कली मोही खडा गरी व्यक्तिको स्वामित्वमा गइसकेको झापाको विर्तामोडस्थित दुर्गा गुठीको करोडौँ मूल्यको दुई बिघा आठ कठ्ठा १८ धुर जग्गा २३ वर्षपछि गुठीकै नाममा फिर्ता भएको छ । विर्तामोड नगरपालिका–३ मा अनारमनी दुर्गा मन्दिरको नाममा राजगुठीमा दर्ता रहेको १३ बिघामध्ये तीन बिघा तीन कठ्ठा १८ धुर जग्गा २०५४ मङ्सिर ११ गते टीकादेवी विमली, सूर्यकुमार विमली र रमेश महर्जनको नाममा कीर्ते मोही हक कायम भएको थियो । राजगुठीमा दर्ता रहेको सो जग्गामा मोही कायम गरिएका तीनै जना व्यक्ति वास्तविक मोही थिएनन् । राजगुठीका मोहीले शतप्रतिशत जग्गा पाउने कानूनी व्यवस्था भएको हुँदा जग्गा हत्याउन षड्यन्त्रपूर्वक कीर्ते मोही खडा गरिएको थियो ।
लामो समयको विवाद र मुद्दामामिला भएपश्चात स्व टीकादेवी विमलीको छोरा केशवप्रसाद विमलीले सोमबार झापाको भूमिसुधार तथा मालपोत कार्यालयमा उपस्थित भई गुठीको जग्गा फिर्ता गरिदिनुभयो । नेपाल सरकारको सहसचिवसमेत रहेका विमलीले ‘हक छाड सनाखत’ प्रावधानअन्तर्गत सो जग्गा गुठीलाई नै फिर्ता गरिदिनुभएको मालपोत कार्यालय भद्रपुरका प्रमुख योगन्द्र दुलालले बताउनुभयो ।
उहाँका अनुसार मालपोत कार्यालयले ‘हक छाड सनाखत’को जानकारी गुठी संस्थानमा पठाइदिने र जग्गाको स्वामित्व पूर्णरूपमा गुठीको नाममा फिर्ता हुनेछ । फिर्ता भएको जग्गा विर्तामोड नगरपालिका–३ को कित्ता नं १२० को एक बिघा दुई कठ्ठा १० धुर, कित्ता नं ८२२ को छ कठ्ठा, कित्ता नं ८२५ को १३ कठ्ठा र कित्ता नं ८१५ को सात कठ्ठा आठ धुर रहेको छ ।
सार्वजनिक सम्पत्ति हडपेको आरोप लागेकामध्ये केशवप्रसाद विमलीले मात्र जग्गा फिर्ता गर्नुभएको छ । सूर्यकुमार विमली र रमेश महर्जनले जग्गा फिर्ता गर्नुभएको छैन । अनारमनी दुर्गा मन्दिरको गुठीको जग्गा फिर्ता गराउन स्थानीयवासीले सङ्घर्ष समिति गठन गरेर अदालतमा मुद्दासमेत हालेका थिए । सर्वोच्च अदालतले २०६६ फागुन ९ गते कीर्ते मोहीकै नाममा मोही हक कायम गरिदिएको थियो ।
विर्तामोडका पत्रकार गणेश पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएपछि आयोगले अनुसन्धान प्रक्रिया अघि बढाएलगत्तै नेपाल सरकारका सहसचिवसमेत रहनुभएका विमलीले जग्गा फिर्ता गरिदिनुभयो । स्व डोमालाल राजवंशीले दुर्गा मन्दिरलाई १३ बिघा जग्गा दान दिएपछि त्यही जग्गा गुठीको स्वामित्वमा वर्षौँदेखि रहँदै आएको थियो । हाल सो जग्गामा स्थानीयवासीले डोमालाल रङ्गशाला निर्माण गरेका छन् । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: