×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गममा नेपाल टेलिकमद्वारा मोबाइल सेवा विस्तार, अग्लो ठाउँमा जानुपर्ने बाध्यताको अन्त्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दुर्गममा नेपाल टेलिकमद्वारा मोबाइल सेवा विस्तार, अग्लो ठाउँमा जानुपर्ने बाध्यताको अन्त्य

Artha Sarokar

२६ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बागलुङ । सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिका वडा नं ६ नर्जा र २ बोङ्खानीमा नेपाल टेलिकमले मोबाइल सेवा विस्तार गरेको छ । दुवै ठाउँमा बिटियस टावर राखेर सेवा दिइएको टेलिकम कार्यालयले जनाएको छ । शुक्रबारदेखि स्थानीय बासिन्दाले गुणस्तरीय भ्वाइस र डाटा सेवा पाएको कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताउनुभयो । यसअघि ती दुवै गाउँमा मोबाइल सेवा सहज थिएन । भौगोलिक विकटताका कारण अन्यत्रका टावरको पहुँच पुग्दैनथ्यो ।
मोबाइलमा कुराकानी गर्न अग्लो ठाउँ भएतिर जानुपर्ने बाध्यता थियो । अब भने नर्जाका २५० र बोङ्खानीका ३५० घरधुरीमा मोबाइलको भ्वाइस र डाटा दुवै सेवा सहज भएको छ । नर्जासँगै छिमेकी गाउँ पात्ले, भित्रीवन र बोङ्खानी आसपासका पुस्डाँडा, लसुने, हिजा, लामाचौरलगायतका बस्ती सेवाबाट लाभान्वित भएका छन् । स्थानीयवासी मङ्गला आधारभूत विद्यालयका प्रधानाध्यापक लेखबहादुर छन्त्यालले मोबाइलमा कुरा गर्न डाँडातिर जानुपर्ने बाध्यता हटेको बताउनुभयो । “एक वर्षदेखि सेवाका लागि टेलिकमसँग माग गरिरहेका थियौँ, अहिले टावर बनेर पनि सेवा शुरु भइसक्यो, हामी सबै खुशी छौँ”, उहाँले भन्नुभयो । 
इन्टरनेटका लागि तत्काललाई दुवै टावरबाट थ्रिजी सेवा सञ्चालन गरिएको वरिष्ठ इञ्जिनीयर शर्माले बताउनुभयो । ती ठाउँमा पछि थ्रिजीलाई स्तरोन्नति गरी फोरजी सेवा दिने टेलिकमको योजना छ । नर्जा र बोङ्खानीमा अन्य दुरसञ्चार सेवा प्रदायकको समेत अहिलेसम्म सेवा पुग्न सकेको थिएन । वडा नं ६ का वडाध्यक्ष कुलबहादुर छन्त्यालले मोबाइल सेवाले स्थानीयवासीको दैनिकी सहज बनेको बताउनुभयो । 
उहाँका अनुसार तीव्र गतिको इन्टरनेट सेवाका लागि फोरजी विस्तारको काम पनि धमाधम भइरहेको छ । धवलागिरिका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा गरी हालसम्म ६५ ठाउँमा फोरजी सेवा सञ्चालन भइसकेको छ । बाँकी झण्डै ५० ठाउँमा फोरजी सञ्चालनको तयारी भइरहेको छ । टेलिकमले ग्राहकको माग र डाटाको खपत बढी हुने ठाउँमा पहिले फोरजी सेवा विस्तार गर्ने गरेको छ । फोरजी सेवाले डाटा र भ्वाइस दुवै सेवामा उल्लेख्य सुधार आएपछि प्रयोगकर्ता पनि सन्तुष्ट बन्न थालेका छन् । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी