
कैलाली । व्यावसायिकरूपमा कुनै पनि काममा लागे सफलता पाउन सकिन्छ भन्ने उदाहरण कैलालीका कृषिकर्ममा लागेका महिलाले पुष्टि गरेका छन् । कैलालीका किसान महिलाले यतिखेर तरकारी प्याजका बेर्ना बेचेर राम्रो आम्दानी लिन थालेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने कृषि पेशाअन्तर्गत तरकारीको बेर्ना उत्पादन पनि हो । तरकारीका बेर्ना उत्पादनमा भविष्य देखेपछि यसमा किसानको आकर्षण बढ्दै गएको छ । कैलालीको टीकापुर–१ वनगाउँ ज्ञानीटोलमा कृष्णामती चौधरीको आरती बेर्ना नर्सरी उत्पादन फार्म छ । यहाँ चार कठ्ठा क्षेत्रफलमा प्याजको बेर्ना उत्पादन गरी सोही स्थानबाट बिक्री गरिन्छ । कृष्णामतीलाई आजभोलि प्याजको बेर्ना बेच्न भ्याइनभ्याइ छ । उहाँले अन्य तरकारीको बेर्नासँगै प्याजको बेर्ना बेचिरहनुभएको छ ।
व्यावसायिकरूपमा बेर्ना उत्पादन गर्ने उहाँले अहिले दैनिक नर्सरीबाटै रु २५० प्रतिकिलोमा बेर्ना बेचिरहनुभएको छ । वनगाउँ र घियागाउँका दुई स्थानमा गरी सात कठ्ठा क्षेत्रफलमा प्याजको बेर्ना उत्पादन गरिरहनुभएको छ । अहिलेसम्म करिब ३० क्विन्टल प्याजको बेर्ना बेचिसक्नुभएको छ । कृष्णामतीले यो सिजनमा रु सात लाख ५० हजारका बेर्ना बिक्री गर्नुभएको हो । “अन्य वर्षभन्दा यस वर्ष प्याजको बेर्नाको बिक्री राम्रो भइरहेको छ । यस वर्ष आम्दानी पनि राम्रै भइरहेको छ”, उहाँले भन्नुभयो, “बेर्ना बिक्री गर्ने सिजनमा महिनामा रु तीन लाखसम्म कमाउन सकिन्छ ।”
तरकारी खेतीभन्दा बेर्ना बिक्रीमा आम्दानी देखेपछि उहाँले बेर्ना उत्पादन रोज्नुभएको हो । कृष्णामतीजस्तै अर्की महिला सुभद्रा चौधरीले पनि यतिखेर प्याजका बेर्ना बेचेर राम्रो कमाइ गरिरहनुभएको छ । उहाँले पाँच कठ्ठा जग्गामा बेर्ना उत्पादन गर्नुभएको छ । “आजभोलि प्याजको बेर्ना बेचिरहेकी छु, यसअघि गोलभेँडा, काउली, बन्दागोभीको बेर्ना बेचेँ”, उहाँले भन्नुभयो, “मासिक रु एक लाखसम्म कमाइ हुन्छ, काम हामी आफ्नै परिवारका सदस्यले गर्छौँ ।”
उहाँको बारीमै बेर्ना किन्ने ग्राहक पुग्छन् । थोरै जमिनमा तरकारी खेती गर्नेले बेर्ना किनेर लगाउँछन् । थोरै बारीमा खेती गर्नेका लागि बेर्ना किनेर लगाउन सजिलो हुन्छ । कृष्णामतीको बारीमा प्याजको बेर्ना किन्न गएकी बन्दना जैशीले गाउँमै बेर्ना पाएपछि सजिलो भएको बताउनुभयो । “एक किलो प्याजको बेर्ना चाहिएको थियो, सहजै पाइयो”, उहाँले भन्नुभयो, “एक किलो लगाउनेले बेर्ना आफैँ राख्न झण्झट हुन्छ । यसरी किन्न पाए सजिलो भयो ।”
विगतका वर्षमा सहज र सस्तोरूपमा सीमा नाकाबाट प्याजको बीउ नेपाली बजारमा आउने गर्दथ्यो तर यस वर्ष सीमा नाकाबाट तरकारी बेर्ना आउन पाएका छैनन् । यसले नेपाली उत्पादकले बजार पाएको किसान बताउँछन् । “अन्य बेर्ना उत्पादनमा लगानी र मेहनत धेरै लाग्छ तर प्याजको बेर्ना उत्पादनमा कम मेहनत लाग्ने गर्दछ”, होसन्ना बेर्ना नर्सरीका सञ्चालक जयराम चौधरी भन्नुहुन्छ, “सहज भएकाले प्याजका बेर्ना उत्पादन गरी बिक्री गरिहेका छौँ । हाम्रो पनि परिवारका सदस्यले काम गर्छन् । घरमै बसीबसी आम्दानी लिन सकिन्छ ।” टीकापुर नगरपालिका कृषि शाखाले पनि बीउ उत्पादनमा लागेका किसानलाई प्रोत्साहन गर्ने नीति लिएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्