
यसैबीच विदेशी ‘लेबल’ लगाएर उपभोक्ता ठग्दै आइरहेको वीरगञ्ज महानगरपालिका वडा नं ६ रेशमकोठी चोकस्थित एसआर तयारी उद्योगमा स्थानीय प्रशासनले आइतबार छापा मारी उद्योगलाई रु तीन लाख जरिवाना गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तामाङको नेतृत्वको टोलीले सो उद्योगमा छापा मार्दा उद्योगले अन्तरराष्ट्रियस्तरको नाम चलेको कम्पनी एडिडास कम्पनीको ट्राउजर्स र द नर्थ फेस कम्पनीको नामको सुट उत्पादन गरी उपभोक्तालाई ठग्दै आइरहेको पाइएको थियो ।
टोलीमा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक टीकाप्रसाद पोखरेल, वाणिज्य कार्यालयका निरीक्षक अधिकृत जीतबहादुर भण्डारीलगायत सहभागी हुनुहुन्थ्यो । व्यापारीले म्याद गुज्रेको दैनिक उपभोग्यका सामान बेच्ने गरेको र मूल्यसूची नराखी उपभोक्तालाई ठग्न थालेको गुनासो आउन थालेपछि अनुगमनलाई तीव्रता दिइएको जनाइएको छ । -रासस