Skip to content
LAXMI SUNRISE BANK

वैदेशिक लगानीका सडकको निर्माण सुस्त, रसुवागढी–स्याफ्रुबेँसी सडकको निर्माण कार्य पनि ठप्प

अर्थ सरोकार

काठमाडौँ । नेपालमा कोभिड–१९ को सङ्क्रमण कम भएर पूर्वाधार निर्माण अघि बढ्न थाले पनि वैदेशिक लगानीका सडक निर्माण सुस्त छ । कोभिड कम भए पनि पूर्णरूपमा नहटेकाले प्रगति कम देखिएको हो । खास गरेर चीन सरकारको आर्थिक सहयोगमा निर्माण गर्ने भनिएका सडकको निर्माण नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएदेखि नै अघि बढिरहेको छैन । त्यतिबेला स्वदेश फर्किएर गएका चिनियाँ फर्किएर नआएकाले निर्माण अघि बढ्न नसकेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो । 
गत आर्थिक वर्षको पछिल्लो चौमासिकमा कोभिड शुरु हुँदा वैदेशिक लगानीका सडकमा भौतिक प्रगति कम थियो । अहिले दोस्रो चौमासिकसम्म पनि निर्माण अघि नबढेकाले प्रगति अझै कम हुनसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले चिनियाँलाई सम्पर्क गरिरहँदा पनि उनीहरुले सङ्क्रमण नहटेसम्म आउन नचाहेको भनिरहेका छन् ।”
चक्रपथको पहिलो खण्डका रूपमा कोटेश्वर–कलङ्की सडक आठ लेनमा विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्डको विस्तारमा चासो देखाएको थियो । सरकारले कलङ्की–चाबहिल (गोपीकृष्ण हल) सम्म सडक विस्तारका लागि निर्माणस्थल खाली गराइरहँदा चिनियाँ टोली भने फर्किएका छैनन् । उनीहरु नफर्किएसम्म सडक निर्माण अघि नबढ्ने प्रमुख थापाले बताउनुभयो । 
चीन सरकारको सहयोगमा नै निर्माण गरिने रसुवागढी–स्याफ्रुबेँसी सडक निर्माण ठप्प छ । चीन सरकारको नै आर्थिक सहयोगमा निर्माण भएको अरनिको राजमार्ग मर्मतको कामसमेत गर्ने गरी छलफल भए पनि त्यो अहिले अघि नबढेको विभागले जनाएको छ । कोभिड–१९ का कारण लामो समयसम्म पूर्वाधार निर्माण सुस्त रहे पनि सरकारका लगानीका अधिकांश योजना अहिले अघि बढिरहेका छन् । सरकारले कोभिड–१९ कै कारण निर्माणमा बाधा पुगेका योजनालाई छ महिना अवधि थप गरेर निर्माण अघि बढाइरहेको छ । अन्तर्राष्ट्रिय निर्माण कम्पनी संलग्न योजनामा भने काम गर्न अझै सहज नभएको विभागले जनाएको छ । 
निर्माणका लागि कतिपय सामग्री विदेशबाट ल्याउनुपर्ने अवस्थामा त्यो ल्याउने वातावरण सजिलो छैन । भारत सरकार र जापान सरकारको सहयोगमा निर्माणाधीन कतिपय योजना भने कोभिडपछि सञ्चालनमा छन् । -रासस
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK