
सिन्धुली । जिल्लाको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरले फर्जी उपभोक्ता बनाएर रकम हिनामिना गरेको तथ्य बाहिरएको छ । गाउँसभाबाट २०७७ असार २८ मा स्वीकृत गरेको गाउँपालिकास्तरीय योजनाको १९९ क्रम सङ्ख्या शीर्षकको रकम हिनामिना गरेको तथ्य बाहिरिएको हो । उपभोक्ताहरुले सिमेन्ट र पाइप माग गर्न जाँदा रकम नभएको थाहा हुन आएपछि उपभोक्ताले खर्च भएको शीर्षक देखाउन आग्रह गरेका थिए तर पालिकामा बासोबास नै नगर्ने व्यक्ति, नाम, थर र ठेगानासमेत परिवर्तन गरी माग फारम भरेर रकम निकासा गरेको पाइएको छ ।
पालिकामा बस्दै नबस्ने व्यक्तिका नाममा समेत सिमेन्ट, पाइप बुझेको भर्पाइ बनाएर अध्यक्ष नै रकम हिनामिनामा संलग्न भएको स्थानीयवासी यतिराज तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका अध्यक्षले यतिराज पहाडी, तीनपाटन–१० सालुकेको नाममा माग फारम भराएर सिमेन्ट तथा पाइप बुझेको पनि भर्पाइ बनाउनुभएछ ।” यद्यपि यतिराज पहाडी नाम गरेको व्यक्ति यहाँ नरहेको तथा वडा नं १० मा सालुके भन्ने ठाउँसमेत नपर्ने उहाँको भनाइ छ ।
उहाँले पालिका अध्यक्षले नै दुलाल सप्लायर्ससँग समन्वय गरी पालिकाको रकम हिनामिना गरेको बताउनुभयो । सबै फर्जी उपभोक्ता बनाएर सिमेन्ट, पाइप बुझेको भर्पाइ बनाएर रकम हिनामिन भएको र सो रकम अध्यक्षले फिर्ता गर्नुपर्नेसमेत उहाँले बताउनुभयो । “अध्यक्षले यसरी फर्जी उपभोक्ता बनाएर दुलाल सप्लायर्ससँग फर्जी बिल मागेर रु चार लाख ७९ हजार ७४१ हिनामिना गरेका प्रष्ट देखिन्छ”, उहाँले भन्नुभयो । यता गाउँपालिका अध्यक्ष मगरले भने अघिल्लो वर्षको सिमेन्ट, पाइप खरिद गरेको बाँकी तिर्नुपर्ने पैसा यस आर्थिक वर्षमा छुट्याएको रकमबाट तिरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले अघिल्लो वर्ष पनि सिमेन्ट र पाइप गाउँपालिकावासीलाई वितरण गरेका थियाँै र दुलाल सप्लायर्सलाई अघिल्लो आवको तिर्न बाँकी पैसा तिरेका हौँ ।”
चालु आवमा छुट्याएको रकम शीर्षकअनुसार काम नै नगरी अघिल्लो आवको बाँकी रकम तिर्न कसरी मिल्यो भन्ने प्रश्नमा उहाँले केही बोल्न मान्नु भएन । उक्त रकम गाउँपालिका अध्यक्ष मगरले नेपाल सरकारको नगद अनुदान रकमलाई शीर्षक परिवर्तन गरी ‘पाइप–सिमेन्ट खरिद वितरण अध्यक्ष ११’ नामको योजनाको शीर्षक बनाउनुभएको थियो । नेपाल सरकारले पालिकाका सबै स्थानीयवासीलाई वितरण गर्ने गरी सिमेन्ट, पाइप वितरण गर्न रु सात लाख विनियोजन गरेको थियो तर सो रकम पालिकाका सबै वडामा समान हिसाबले वितरण नगरी आफ्नै वडामा फर्जी उपभोक्ता बनाएर खर्च गरेको पाइएको छ ।
यता अध्यक्षकै शैलीमा गाउँपालिकाका उपाध्यक्ष पदममाया तामाङले पनि वाग्मती प्रदेश सरकारको समानीकरण नगद अनुदान रकमको शीर्षक परिवर्तन गर्दै ‘पाइप तथा सिमेन्ट खरिद वितरण उपाध्यक्ष ११’ नामको योजना बनाएको पाइएको छ । उपाध्यक्ष तामाङले योजना बनाउने सवालमा त्रुटि भएको तर ११ नं वडामा मात्र नभई गाउँपालिकाका ११ वटै वडामा सिमेन्ट र पाइप वितरण गर्ने बताउनुभयो । गाउँपालिका अध्यक्षले सिमेन्ट र पाइप वितरण हालसम्म गरेको भन्ने आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो । उपभोक्ताले सिमेन्ट पाइप माग गर्न आउँदा यस्तो कुरा उपभोक्ताबाटै आफूले सुनेको उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “प्रदेश सरकारले पठाएको समानीकरण अनुदानको रकम सूचना सर्वजनिक गरी उपभोक्ताबाट निवेदन सङ्कलन गरी सबै वडाका सबै नागरिकलाई आवश्यकताका आधारमा सिमेन्ट र पाइप वितरण गर्ने योजना रहेको छ ।” प्रदेश सरकारले रु पाँच लाख ५० हजार पठाएको उहाँले जानकारी दिनुभयो । सरकारको अनुदान रकममा जनप्रतिनिधिले आफ्नो स्वार्थअनुसार प्रयोग गर्दा उद्देश्यअनुरुप खर्च हुन सकिरहेको छैन । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्