
त्रिशूली । नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । परीक्षणका रूपमा गत जेठमा १.२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८।७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिनुभयो । आयोजनाको पछिल्लो प्रगति बुझ्न सोमबार स्थलगत अवलोकनमा आउनुभएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हाल आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन गरेर केन्द्रीय प्रसारण प्रणालीमा जडान शुरु गरेको र उक्त परीक्षण सफल भइरहेको जानकारी आयोजना प्रमुख रघुवंशीले गराउनुभयो ।
आयोजनामा रहेका सातवटा ब्लकमध्ये स्टाफ क्वार्टर (विद्युत् प्राधिकरणमार्फत सञ्चालित बोर्डिङ स्कूल रहेको स्थान) र फोर–वे (नेपाली सेनाको ब्यारेक पछाडिको चौर) मा जडान गरिएको सौर्य प्यानलमार्फत १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । उक्त विद्युत् देवीघाट जलविद्युत केन्द्रको प्रसारण प्रणालीमार्फत सिधै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
आयोजनाले २५ मेगावाट विद्युत् उत्पादनका लागि देवीघाट जलविद्युत् केन्द्रको विभिन्न सात स्थानको खाली जग्गा उपयोगमा ल्याउने क्रममा अबको केही दिनमा थप पाँच मेगावाट विद्युत् उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ । थप विद्युत् उत्पादनका लागि विदुर नगरपालिका–६ र १२ नं मा पर्ने रातमाटे, केराघारी, हेलिप्याड र कफीघारीको स्थान नं १ र स्थान नं २ गरेर थप पाँच स्थानमा अहिले जग्गा सम्याउनेदेखि प्यानल जडानको काम भइरहेको छ ।
त्यसअन्तर्गत रातमाटे, केराघारी र हेलिप्याड क्षेत्रको काम अन्तिम चरणमा पुर्याइएको एक महिनाभित्रै पाँच मेगावाट विद्युत् थप हुने देखिएको छ । उक्त थप विद्युत् चाँडो गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जडान गर्न प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले निर्देशन दिनुभयो । “यो वर्ष हिउँदमा वर्षा नहुँदा नदी तथा खोलामा पानीको बहाव निकै कम भएको छ । यसले विद्युत् सङ्कट बढाउन सक्ने देखिन्छ”, उहाँले भन्नुभयो, “अभाव पूरा गर्नका लागि वैकल्पिक योजनाका रूपमा रहेको सौर्य प्लान्ट जतिसक्दो चाँडो सञ्चालन गर्नतर्फ लाग्नुपर्छ ।”
दुई चरणअन्तर्गत थप छ महिनाभित्र आयोजना पूरा गरेर विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य भएकाले त्यसलाई पूरा गर्न सकिने आयोजना प्रमुख रघुवंशीले प्रतिबद्धता जनाउनुभयो । नेपालकै ठूलो सौर्य प्लान्टका रूपमा निर्माण भइरहेको ‘ग्रिड सोलार आयोजना’ नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण थालिएको हो । विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत सहुलियतपूर्ण ऋण सहयोगमा थालिएको आयोजनाको निर्माण चिनियाँ कम्पनी ‘राइजन इनर्जी’ मार्फत काम भइरहेको छ । करिब रु तीन अर्ब ८० करोड लाग्ने प्रक्षेपण गरिएकाले यस आयोजना विद्युत् उत्पादनका लागि महङ्गो भए पनि विद्युत् उत्पादनको वैकल्पिक स्रोत र नमूनाका रूपमा लिइएको प्राधिकरणले जनाएको छ ।
खेर जाँदै आएको सौर्य ऊर्जा सङ्कलन गरेर प्राधिकरणको प्रयोगविहीन ९खाली रहेको० जग्गामा सञ्चालन हुने आयोजनाको लगानी, प्रयोग र विद्युत् उत्पादनमा देशकै ‘नमूना’का रूपमा लिइएकाले यसलाई नाफा नोक्सानको रूपमा लिन नहुने प्राधिकरणले जनाएको छ । प्राविधिकहरूका अनुसार आयोजनाबाट २५ मेगावाट विद्युत् भए पनि डिसी (डाइरेक्ट करेन्ट) बाट एसी (अल्टरनेट करेन्ट)मा रूपान्तरण गर्दा प्रयोगयुक्त विद्युत् करिब २२ मेगावाट हुने देखिन्छ ।
सौर्य प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भारको सम्पूर्ण काम निर्माण व्यवसायीले पाँच वर्षसम्म गर्ने सम्झौता उल्लेख भएअनुसार आयोजनाको हस्तान्तरण त्यसपछि मात्र नेपाल विद्युत् प्राधिरकणलाई हुनेछ । प्लान्टबाट उत्पादित विद्युत् हाल देवीघाट जलविद्युत् केन्द्रमार्फत उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा जोडिएको प्रसारण लाइनबाटै पठाइएको छ । सौर्य प्लान्ट आयोजनाको आफ्नै ६६ केभी क्षमताको सबस्टेशन निर्माणको प्रक्रियामा छ । सौर्य प्लान्ट सञ्चालनमा आएपछि राष्ट्रिय प्रसारणमा वार्षिक रु तीन करोड ३० लाख युनिट विद्युत् थप हुने प्राधिकरणको अनुमानित लक्ष्य छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्