×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुरसम्बन्धी अन्तरक्रिया सम्पन्न, अन्तरनिकाय समन्वय र सहकार्यको आवश्यकतामा जोड

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

बैंकिङ कसुरसम्बन्धी अन्तरक्रिया सम्पन्न, अन्तरनिकाय समन्वय र सहकार्यको आवश्यकतामा जोड

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । चैत १३ गते काठमाडौंमा ‘बैंकिङ कसुरको अनुसन्धान, अभियोजन तथा बैंकिङ सुपरिवेक्षण’ विषयक एक दिने अन्तरक्रिया कार्यक्रम आयोजना ग¥यो । महान्यायाधिवक्ता रमेश बडालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंक, महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीका अधिकारीहरूको सहभागिता थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महान्यायाधिवक्ता बडालले बैंकिङ प्रणालीमा देखिएका कसुरलाई नियन्त्रण गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
त्यसको निम्ति राष्ट्र बैंक, सरकारी वकिल र नेपाल प्रहरीबीच प्रभावकारी समन्वय एवम् सहकार्य हुनुपर्ने उहाँको धारणा थियो । महान्यायाधिवक्ता बडालले भन्नुभयो, “विगतमा हामीबीच समन्वयको अभावले कुनै समस्या उत्पन्न भएको छ भने त्यसमा सुधार गर्दै अन्तरनिकाय समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।” कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ कसुर र सजायसम्बन्धी कानुन जारी भएपश्चात् बैंकिङ कसुरजन्य क्रियाकलापको नियन्त्रणमा मद्दत मिले पनि पछिल्लो समयमा कसुरका नयाँ प्रवृत्तिले चुनौती थपेको बताउनुभयो । 
त्यसको निम्ति विद्यमान कानुनी व्यवस्थालाई संशोधन र परिमार्जन गर्नुपर्ने धारणा उहाँले राख्नुभयो । “सूचना प्रविधिको विकाससँगै बैंकिङ कसुरका नयाँनयाँ प्रवृत्तिहरू देखिन थालेका छन् । तिनको नियन्त्रणलाई विद्यमान कानुनले समेट्न सकेको छैन । त्यसलै कानुनी व्यवस्थामा सुधार गर्नुपर्ने आवश्यकता छ ।” सो अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले तीनवटै निकायको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै बैंकिङ कसुर नियन्त्रणमा उपलब्धि हासिल हुने धारणा राख्नुभयो । हुण्डी र मौखिक माध्यमबाट हुने अन्य कारोबारले वित्तीय प्रणालीमा जोखिम सृजना गरेको उहाँको भनाई थियो । साथै, सहकारी संस्थाको कारोबारलाई पनि प्रभावकारी नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता क्षेत्रीले औंल्याउनुभयो । कानुन महाशाखाका निर्देशक थानेश्वर आचार्यले उद्घाटन सत्रको समापन मन्तव्य राख्नुभएको थियो ।
डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाको अध्यक्षतामा सञ्चालित छलफल सत्रमा तीन वटै निकायको तर्पmबाट कार्यपत्रहरू प्रस्तुत गरिएको थियो । सो अवसरमा नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले‘बैंक सुपरिवेक्षकको रूपमा नेपाल राष्ट्र बैंकको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । यस क्रममा उहाँले सुपरिवेक्षणको अवधारणा, कानुनी व्यवस्था, सुपरिवेक्षकीय अभ्यास र बैंकबाट भएका कारवाहीबारे चर्चा गर्नुभयो । प्रहरी नायब महानिरीक्षक एवम्केन्द्रीय अनुसन्धान ब्यूरोका निर्देशक सहकुल बहादुर थापाले ‘बैंकिङ कसुरसम्बन्धी अनुसन्धान अनुभव, समस्या तथा सुधार गर्नुपर्ने विषयहरू’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । 
सो अवसरमा उहाँले ब्यूरोबाट हुने बैंकिङ कसुरको अनुसन्धान प्रक्रिया, कसुरजन्य क्रियाकलाप, बैंकिङ कसुरको अनुसन्धानमा देखिएका समस्या र समाधानका उपायबारे चर्चा गर्नुभयो । कार्यक्रममा सहन्यायाधिवक्ता ध्रुवकुमार चौहानले ‘बैंकिङ कसुर तथा बैंकिङसम्बन्धी अन्य प्रचलित कानुनअन्तर्गतका कसुरको अभियोजनसम्बन्धी अनुभव, सोमा देखिएका समस्या, गर्नुपर्ने सुधार र अन्तरनिकायगत समन्वय’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा बैंकिङ कसुरसम्बन्धी बैंक तथा वित्तीय संस्थाका सुपरिवेक्षण, कसुरका जाहेरी, अनुसन्धान, अभियोजन प्रक्रियाका विषयमा सहभागीहरूबीच विस्तृत छलफल भएको थियो । डेपुटी गभर्नर बमबहादुर मिश्रले छलफल सत्रमा समापन मन्तव्य राख्दै बैंकिङ कसुरका विद्यमान कानुनी व्यवस्थामा सुधार गर्दै तीन वटै निकायबीच समन्वय गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: