कर्णाली । जुम्ला, कालीकोट र मुगुका स्याउ किसानले क्षतिपूर्ति पाएका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरूले क्षतिपूर्ति पाएका हुन् । शिखर इन्स्योरेन्स कम्पनीले जुम्ला, कालीकोट र मुगुका दुई हजार १२० स्याउ किसानलाई क्षतिपूर्ति क्षतिपूर्ति उपलब्ध गराएको जनाएको छ । कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेले भन्नुभयो, “मौसम सूचकाङ्कका आधारमा बीमा गरेका स्याउ किसानलाई क्षतिपूर्तिबापत रकम भुक्तानी गरेका छाँै ।” जुम्लाको पातारासी गाउँपालिका–६ का स्याउ किसान अदिराज विष्टलाई क्षतिपूर्तिबापत रु एक लाख ८९ हजार भुक्तानी दिएको उहाँले बताउनुभयो ।पछिल्लो समयमा जिल्लामा स्याउ खेतीमा किसानको आकर्षण बढेसँगै बीमा गर्नको सङ्ख्यामा पनि वृद्धि भएको कम्पनीको शाखा कार्यालय जुम्लाका प्रमुख दीपदर्शन फडेराले जानकारी दिनुभयो । गत वर्ष असिनाका कारण स्याउ नष्ट भएपछि स्याउको बीमा गरेका किसानले क्षतिपूर्ति पाएको उहाँको भनाइ छ । यहाँका किसानले वर्षेनी स्याउ बीमा नवीकरण गर्छन् । स्थानीय तहका कृषि शाखाको सिफारिसमा बीमा गरेका किसानलाई कम्पनीले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि आफूहरु क्षतिपूर्ति पाउको स्याउ किसान नर रोकायाले बताउनुभयो ।
यसैगरी छिमेकी जिल्ला कालीकोट र मुगुका एक हजार ३८२ स्याउ किसानले स्याउ बीमा गरेबापत रु दुई करोड ५५ लाख क्षतिपूर्ति पाएको कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख फडेराले जानकारी दिनुभयो । बिमा गराएका कारण स्याउ खेतीबाट क्षति बेहोर्नु परेका किसान राहत पाएको कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक लछिराम महतले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यालयले सबै स्थानीय तहका कृषि शाखामार्फत त्यहाँका किसानलाई बीमा गर्ने सम्बन्धी शिक्षा दिएपछि यसप्रति उनीहरुको आकर्षण बढ्दो छ ।”
शिखर इन्स्योरेन्स कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेका अनुसार २०७२ सालदेखि स्याउ बीमा कार्यक्रम शुरु भएको हो । अहिले हुम्लाबाहेक तत्कालीन कर्णालीको जुम्ला, कालीकोट, मुगु र डोल्पाका किसान स्याउ बीमाप्रति निकै उत्साहित छन् । असिना र खडेरी परेर स्याउ उत्पादनमा ह्रास आएपछि बीमा गराएका किसानले क्षतिपूर्ति पाउने गर्छन् । स्याउ बीमा गर्दा उत्पादन नभए पनि बीमास्वरुप क्षतिपूर्ति पाउने भएकाले स्याउखेती बीमा गर्न किसान लागिपरेका हुन् । स्याउखेती बीमाले कर्णालीमा स्याउखेती गर्न किसानलाई उत्साहित बनाएको छ । जलवायु परिवर्तनका कारण एकै खालको मौसम नहुने भएकाले स्याउ बीमा गर्न किसान आकर्षित भइरहेको शाखा प्रमुख प्रमुख पाण्डेको भनाइ छ ।
जिल्लालाई स्याउ पर्यटन क्षेत्रका रूपमा विकास गर्न स्थानीय सरकारले यहाँका स्याउ किसानलाई राहत हुने गरी काम गर्न आवाश्यक रहेको तिला गाउँपालिका–१ का वरिष्ठ स्याउ किसान महेन्द्र बुढाले बताउनुभयो । जिल्लाका झण्डै २१ हजार घरधुरीमध्ये करीब १६ हजारभन्दा बढीले प्रत्यक्षरुपमा स्याउ खेतीमा लागेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
फुजी स्याउ
पछिल्लो समय यहाँका किसान विदेशी फुजी स्याउको उत्पादनतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामै उत्पादन हुने अग्र्यानिक जुम्ली स्याउभन्दा फुजी स्याउले राम्रो प्रतिफल दिन थालेपछि यहाँका किसान यसतर्फ आकर्षित भएका हुन् । जिल्लामा फुजी स्याउखेती सफल भएसँगै जुम्ला एग्रो फार्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफल जग्गा लिजमा लिएर स्याउखेती शुरु गरेको एग्रो फार्मका सञ्चालक सञ्चालक रेश्मा श्रेष्ठले बताउनुभयो ।
शुरुआतमा ‘फुजी, गोल्डेन डेलिसियस, रेड चिप, गाला र जोर्डन गरी पाँच प्रकारका स्याउ लगाइएको सञ्चालक श्रेष्ठले बताउनुभयो । जिल्लामा चार–पाँच वर्षदेखि इटालियन फुजी जातको स्याउखेती हुन थालेको छ । कम लागतमा बढी उत्पादन दिने भएकाले फुजी स्याउखेतीतर्फ यहाँका किसान आकर्षित भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ सुपर जोन कार्यालय जुम्लाका कार्यालय प्रमुख नवराज भण्डारीले बताउनुभयो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्