×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वसन्तपुर क्षेत्रको अनाधिकृत व्यापार हटाउन पुरातत्त्व विभागसँग काठमाडौँ महानगरको माग

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

वसन्तपुर क्षेत्रको अनाधिकृत व्यापार हटाउन पुरातत्त्व विभागसँग काठमाडौँ महानगरको माग

१८ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वसन्तपुर क्षेत्रका अनधिकृत व्यापार हटाउन पुरातत्व विभागलाई पत्राचार गरेको छ । वसन्तपुरको वारुणयन्त्र कार्यालयबाट उत्तरतर्फको भवन र तलेजु भवानी मन्दिर नजिकैको भवनका अनधिकृत व्यापार हटाएर सात दिनभित्र जानकारी गराउन कामपाले विभागलाई पत्र पठाएको हो । “वसन्तपुरसहित काठमाडौँका विश्व सम्पदा क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व जोगाउनु विभागको पनि दायित्व हो”, पत्रमा भनिएको छ । वसन्तपुर क्षेत्रमा विभागले हेर्नुपर्ने स्थान भोगचलन गरी भवनमा पुरातात्विक महत्वविपरीत व्यापारिक प्रयोजनमा ल्याइएको जनगुनासो आएपछि कामपाले विभागलाई पत्र पठाएको जनाएको छ । पत्रमा भनिएको छ, “तोकिएको समयमा विभागले पसल हटाउने कार्य नगरे कामपाले नै हटाउने छ”, कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४, कामपाको भवन निर्माण मापदण्ड २०७५ र प्राचीन स्मारक ऐन २०१३ समेतका कानूनी व्यवस्थाबमोजिम वसन्तपुर क्षेत्रका प्राचीन संरक्षण, मर्मत र जीर्णोद्धार गर्नुका साथै उक्त क्षेत्रमा सञ्चालित अनधिकृत व्यापार–व्यवसाय हटाउनु यस कार्यालयको प्राथमिक योजनाभित्र पर्दछ । यही फागुन १४ गते कामपाको सम्पदा तथा पर्यटन विभागले पत्र पठाएको हो । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रका ऐतिहासिक सम्पदाको पुनःनिर्माण कार्यले पनि तीव्रता पाएको छ । अहिलेसम्ममा यस क्षेत्रका २७ सम्पदा पुनःनिर्माण सम्पन्न भइसकेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
यहाँ विश्व सम्पदा क्षेत्रमा सूचीकृत रहेका ७० सम्पदा छन् जसमध्ये १२ वटामा भूकम्पले क्षति नै भएको थिएन । अड्डाका कार्यालय प्रमुख सन्दीप खनालका अनुसार अहिले बनिरहेका सम्पदाको काम नसकी काम शुरु गर्नु नहुने भएकाले २० सम्पदाको काम अझै हुनसकेको छैन । हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको छ । दरबारको ६० प्रतिशत काम सकिएको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनःनिर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ । यसअघि गद्दी बैठक अमेरिकाको सहयोगमा पुनःनिर्माण सम्पन्न भइसकेको छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: