×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनहित माध्यमिक विद्यालयलाई जुट्यो ५० लाख सहयोग, प्रविधिमैत्री गुणस्तरीय शिक्षाको अवसर दिलाउने उद्देश्य

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

जनहित माध्यमिक विद्यालयलाई जुट्यो ५० लाख सहयोग, प्रविधिमैत्री गुणस्तरीय शिक्षाको अवसर दिलाउने उद्देश्य

बागलुङ । गलकोट नगरपालिका-७ मल्मस्थित जनहित माध्यमिक विद्यालयले थालेको ‘जनहित शैक्षिक सहयोग (कोषवृद्धि)’ अभियानमार्फत ५० लाखको सङ्कलन भएको छ । अभियानमा हालसम्म ३०० भन्दा बढी दाता जोडिएको विद्यालयले जनाएको छ । विद्यालयको शैक्षिक/भौतिक सुधारका लागि आर्थिक स्थिति मजबुत बनाउन गत वर्षदेखि सहयोग अभियान चलाइएको थियो । देश विदेशमा रहेका विद्यालयका पूर्वविद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, समाजसेवी, शिक्षाप्रेमीलगायतले आर्थिक सहयोग गरेको अभियानका संयोजक राज थापाले बताउनुभयो । संयोजक थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाले संयुक्तरुपमा ८ लाख रुपैयाँ प्रदान गरी अभियानको शुभारम्भ गर्नुभएको थियो ।
कोरोना भाइरस महामारीले गत वर्ष अभियान प्रभावित भएपनि स्थिति केही सहज भएपछि पुनः अभियान अगाडि बढाइएको थियो । ‘एक करोडको कोष बनाउने लक्ष्य छ, अभियान अर्को वर्षसम्म निरन्तर चल्छ’, संयोजक थापाले भन्नुभयो । विद्यालयले गत वर्षदेखि कक्षा ११ सञ्चालनमा ल्याएको थियो । कक्षा १२ सञ्चालन अनुमतिका लागि प्रक्रिया थालिएको छ । कक्षा ११ र १२ नियमित सञ्चालनका लागि आवश्यक पूर्वाधार तयारीका काममा समेत कोषबाट आउने ब्याज रकम खर्च गरिने भएको छ ।कोषवृद्धि अभियानमा जोडिएर सहयोग गर्ने दातालाई नयाँ वर्षको अवसरमा विद्यालयले सम्मानसमेत गरेको थियो । ५० हजार रुपैयाँभन्दा माथि सहयोग गर्ने २४ दातालाई नौमती बाजासहित ताम्दानीमा राखेर समारोहस्थलमा सयर गराइएको थियो ।
विद्यालयलाई सहयोग गरेका मनकारी दाता उक्त सम्मान पाएपछि खुशी देखिन्थे । आफूले गरेको सहयोग विद्यालयको स्तरवृद्धि र शैक्षिक सुधारका क्षेत्रमा खर्च होस् भन्ने चाहना दाताको छ । समुदायस्तरबाट विद्यालयको विकासका लागि स्वतःस्फूर्तरूपमा सहयोग जुटेकामा धेरैले अभियानको प्रशंसा गरेका थिए । बालबालिकालाई प्रविधिमैत्री गुणस्तरीय शिक्षाको अवसर दिलाउन विद्यालयले योजना बनाएर काम थालेको विद्यालयका प्रधानाध्यापक देवबहादुर खत्रीले बताउनुभयो । प्रयोगशाला, विद्युतीय पुस्तकालय, शैक्षिक सामग्री, उपकरण, शिक्षण सिकाइ, क्षमता अभिववृद्धिलगायतका क्षेत्रमा कोषलाई परिचालन गरिने उहाँको भनाइ छ । हाल कक्षा ५ सम्म रहेको अङ्ग्रेजी माध्यमलाई कक्षा १० सम्म पुर्याउने विद्यालयको लक्ष्य छ ।
विसं २०२१ मा खुलेको विद्यालयले भौतिक सुधारतर्फ पनि विस्तारै फड्को मार्दैछ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा यही वर्ष चार कोठे भवन बनेको छ । जनश्रमदान र निजी स्रोतबाट गत वर्ष चार कोठे भवन बनाइएको थियो । अङ्ग्रेजी माध्यमसहित गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि विद्यालयले पहल थालेपछि विद्यार्थीको आकर्षण पनि बढ्न थालेको छ । दाताको सम्मानसहित सोही समारोहमा विद्यालयले नेपाली सङ्गीत जगतमा योगदान पुर्याएका आफ्ना पूर्वविद्यार्थीलाई समेत सम्मान गरेको विव्यस अध्यक्ष थापाले जानकारी दिनुभयो । सम्मानित हुनेमा लोकगायक÷कलाकार विष्णु खत्री, वसन्त थापा, दुर्गेश थापा, आशिष अविरल, कर्ण विद्रोही, ईश्वर सिंह, राम खत्री र जीवन साहनी हुनुहुन्छ । समारोहमा अतिथि कलाकारका रुपमा अभिनेता पल शाह, गायिका समीक्षा अधिकारीलगायत सम्मानित भएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: