
बलेवा । कोरोना महामारीका कारण रोकिएको बागलुङको काठेखोला गाउँपालिका-५ बिहुँ दादराखोला सिंचाई योजना दुई वर्षपछि शुरु भएको छ । यो आयोजना निर्माण भएमा काठेखोला गाउँपालिका-५ को लाम्खु, बिरौटा र ठूलढुङ्गाका खेत तथा बारीका फाँटमा सिंचाई पुग्ने छ । बिहुँका १०० घरधुरीको झण्डै ४०० हेक्टर जमीनमा सिंचाई पुर्याउनेगरी आयोजना सुरु भएको हो ।
गण्डकी प्रदेश सरकारको बहुवर्षे आयोजनाअन्तर्गत अघिल्लो वर्ष विनियोजित १५ लाख बजेट फिर्ता भएपछि चालू वर्ष काम थालिएको उपभोक्ता समितिका अध्यक्ष भूमिश्वर कँडेलले जानकारी दिनुभयो । ‘कोरोना सङ्क्रमण र लकडाउनका कारण काम गर्न नसकेर बजेट फिर्ता भयो, यो वर्ष जसरी पनि काम गर्छौं’, उहाँले भन्नुभयो, ‘बहुवर्षे कार्यक्रम भएकाले आगामी वर्ष पनि बजेट आएमा निर्माण सम्पन्न गर्न सकिन्छ ।’ उपभोक्ताको १५ प्रतिशत श्रमदानसहित १करोड ५० लाख लागतमा आयोजना निर्माण हुनेछ । दुई किमी लामो सिँचाइ कुलोमार्फत दादराखोलाको पानी खेतमा ल्याइने योजना उहाँले सुनाउनुभयो ।
सिंचाई अभावमा यहाँका किसानले हिउँदे तथा वर्षेखेती लगाउन पाएका थिएनन् । किसानले सिंचाई आएपछि तरकारीखेती लगाएर आत्मनिर्भर बन्ने योजना वडाको छ । ‘हामीले सिंचाई अभावमा तरकारी पनि लगाउन सकेका थिएनौँ’, स्थानीय माया कँडेलले भन्नुभयो, ‘अब गाउँघरमै उत्पादन गरेर खर्च बचाउन सकिने भयो ।’ परम्परागत कुला मासिएपछि स्थानीयले सिंचाईको समस्या झेल्दै आएका थिए ।
गत वर्ष वडा कार्यालयको पहलमा आयोजनाको लागत तयार गरिएको वडाध्यक्ष शिवप्रसाद कँडेलले बताउनुभयो । ‘पालिकाबाट बजेट विनियोजन सम्भव नभएपछि उपभोक्ता समितिमार्फत प्रदेशको ध्यानाकर्षण गरेपछि बजेट विनियोजन भएको हो’, कँडेलले भन्नुभयो, ‘यो आयोजना निर्माण हुँदा १०० घरपरिवारले लाभ पाउन सक्छन् ।’ सिँचाइ विकास डिभिजन कार्यालय बागलुङले आयोजनामा प्राविधिक सहयोग गरेको डिभिजन इञ्जिनीयर सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । बहुवर्षे पक्की नहरसहितको कार्यक्रम भए पनि पानी चलाएर आगामी वर्षबाटै उत्पादन लिने काम गरिने किसानको योजना छ । रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्