×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६९ लाखको लागतमा वडा कार्यालय भवन निर्माण

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

६९ लाखको लागतमा वडा कार्यालय भवन निर्माण

१७ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा वडा कार्यालय भवन निर्माण भएको छ । धवलागिरि गाउँपालिकाले उपभोक्ता समितिमार्फत दुईतले भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७४/७५ मा सुरु भएको भवन निर्माण चालु आर्थिक वर्षमा सकिएको छ । बहुउद्देश्यीय सभाहलसहितको भवन निर्माणको काम सकिएपछि वडा कार्यालय सञ्चालन गरिएको वडाध्यक्ष खर्ककुमारी छन्त्यालले बताउनुभयो ।
कूल ६९ लाखको लागतमा कार्यालय भवन निर्माण भएको उहाँले बताउनुभयो । आव २०७४/७५ मा रु १९ लाख, २०७६/७७ मा रु १९ लाख ५० हजार र २०७७/७८ मा रु २८ लाख ५० हजार विनियोजन भएको थियो । भवनको माथिल्लो तलामा कार्यालय, पदाधिकारी, सचिवको कार्यकक्ष र वडासचिवको आवास बनाइएको छ । पक्की भवनको भुइँ तलामा १५० जना क्षमताको सभाहल छ । यसअघि मल्कवाङमा वडाको आफ्नै भवन थिएन । युवा क्लबको साँघुरो भवनबाट कार्यालय सञ्चालन गरिएको थियो ।
भवन अभावमा कार्यालयको सेवा प्रवाह प्रभावित भएको थियो । भेला, बैठक, सभा, सम्मेलन, तालिम, गोष्ठी सञ्चालन गर्न समस्या भएको थियो । सातवटा वडा रहेको धवलागिरिमा आफ्नै नयाँ कार्यालय भवन बनाउने मल्कवाङ पहिलो बनेको छ । गाउँपालिकाले लमसुङमा २ नं र ताकमको ७ नं वडाको कार्यालय भवन निर्माण गरिरहेको छ । साविक मुना गाविसको भवनमा गाउँपालिले कार्यालय राखेपछि वडा नं ३ पुरानो कच्ची भवनको एउटा कोठाबाट सञ्चालन भएको छ । वडा नं १ गुर्जा र वडा नं ४ मुदीको पनि आफ्नै भवन छैन । वडा नं ६ को कार्यालय सञ्चालन भएको कुम्रीस्थित प्रगति आमा समूहको भवन गत असारमा पहिराले बगाएको थियो ।
सङ्घीयताको कार्यान्वयन र स्थानीय तह स्थापना भएपछि म्याग्दीमा तीनवटा नयाँ वडा कार्यालय निर्माण भएका छन् । तत्कालीन जिविसले सुरु गरेको अन्नपूर्ण गाउँपालिकाको वडा नं ६ घार र वडा नं ५ को कार्यालय गाउँपालिकाले पूर्णता दिएको छ । बुकेनीमा मङ्गला गाउँपालिकाले वडा नं ४ को भवन निर्माण गरेको छ । मालिका गाउँपालिकाले डाँडागाउँमा वडा नं ३ को कार्यालय भवन निर्माण सुरु गरेको छ । बेनी नगरपालिकाले सामुदायिक चोकमा वडा कार्यालय निर्माणकार्य अन्तिम चरणमा पुर्याएको छ । अर्थुङ्गेमा बेनपाको वडा नं ६ को कार्यालय निर्माणाधीन छ । यसैगरी क्याम्पसकचोकमा वडा नं ८ को कार्यालय सञ्चालन र बाढी व्यवस्थापन गर्ने उद्देश्यले घर, जग्गा अधिग्रहण भएको छ । रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: