
म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी-जोमसोम-कोरला सडक आयोजनाले यही वैशाख मसान्तसम्म दैनिक नौ घण्टा सवारी आवत जावत रोक्ने समय तालिका सार्वजनिक गरेको हो ।
आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले बिहान ६ः३० देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ः३० बजेसम्म सडक बन्द गरिएको जानकारी दिनुभयो । ‘म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक विस्तारलाई तीव्रता दिन सवारी रोकेर काम गर्ने निर्णय गरिएको हो’, उहाँले भन्नुभयो, ‘अन्य ठाउँमा पनि निर्माण व्यवसायीले तोकिएको समयमा सडक बन्द गरेर निर्माणको काम गर्न सक्छन् ।’
यसअघि गत चैत १४ देखि १९ गतेसम्म काभ्रेभिर र कैकुखोला क्षेत्रमा पूर्णरूपमा सवारी आवतजावत बन्द गरेर सडक निर्माण गरिएको थियो । सडक बन्द हुने स्थानबाहेकका ठाउँमा भने सवारी चल्नेछन् । बेनी-जोमसोम ७६ किमी सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । प्याकेज नम्बर २ को काभ्रेभिरमा गत पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा-गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहाँ एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने जनाइएको छ ।
काभ्रेभिर बेनी-जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनी शर्मा-गजुरमुखीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ । करिब रु छ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजना विसं २०७४ बाट निर्माण शुरु भएको हो । एक सय १० किलोमिटर दूरीको जोमसोम-कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ । आयोजनाले जोमसोम-कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम निर्माण सकिएको जनाएको छ । बेनी-जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम-कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको छ । रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्