
बाँके । बाँकेमा कृषि बीउबिजन बिक्री केन्द्रबाट खेती लगाउने बेला म्याद सकिएको बीउ बिक्री भएको पाइएको छ । निषेधाज्ञाको मौका छोपेर बीउबिजन बिक्रेताले किसानलाई म्याद नाघेको बीउ बिक्री गर्ने गरेका छन् । ग्रामीण क्षेत्रबाट बीउबिजन खरीद गर्न आउने किसानलाई म्याद नाघेको बीउबिजन बिक्री गर्ने गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनुभयो ।
उहाँका अनुसार खेती लगाउने समयमा व्यापारीले किसानलाई ठग्ने गरेको गुनासो आउन थालेपछि बजार अनुगमनका क्रममा म्याद नाघेको बीउबिजन बिक्री गरेको पाइएको हो । शुक्रबार मात्रै संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्ज उपमहानगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रका विभिन्न कृषि बीउबिजन तथा औषधि पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गर्ने दुई पसललाई २५ हजार जरिवाना गरिएको छ ।
किसानले प्रयोग गर्न नमिल्ने, म्याद सकिएका करीब १७ हजारभन्दा बढी मूल्य बराबरको विभिन्न खाद्यान्न एवं तरकारीको बीउबिजन पनि नष्ट गरिएको छ ।यसअघि पनि बाँकेस्थित संयुक्त बजार अनुगमन टोलीले बिहीबार नेपालगञ्जका विभिन्न कृषि बीउबिजन तथा औषधि पसलको अनुगमन गरी किसानले प्रयोग गर्न नमिल्ने, म्याद सकिएका करीब ४४ हजारभन्दा बढी मूल्य बराबरको खाद्यान्न एवं तरकारीको बीउ नष्ट गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी चौलागाई बताउनुभयो ।
उत्पादन मिति नहेर्ने र सोधीखोजी नगर्ने किसानलाई सजिलैसँग व्यापारीले म्याद नाघेको बीउबिजन बिक्री वितरण गर्ने गरेको पाइएको उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष वसन्त गौतमले बताउनुभयो । उहाँले स्थानीय तहले बजार अनुगमन नगर्ने र किसानलाई समयमै आवश्यक बीउबिजन वितरण नगर्दा किसान म्याद नाघेको बीउबिजन किन्न बाध्य हुने गरेको सुनाउनुभयो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्