×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

दुः खले फलाएको तरकारी बारीमै कुहिँदै, किसान भन्छन् ‘ घर खर्चसमेत छैन हामीलाई निषेधाज्ञाले बर्बाद बनायो’

गलेश्वर । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दा म्याग्दीका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन नसकी बारीमै सड्न थालेको छ । विश्वभर फैलिएको कोभिड १९ को सङ्क्रमण फैलिन नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्दा बजारमा लैजान तयार भएको तरकारी बिक्री नहुँदा किसानहरु चिन्तित भएका हुन् । बजारसम्म तरकारी पुर्याउन नसक्दा र पुर्याएको तरकारी पनि बिक्री नभएपछि तरकारी बारीमै सड्न थालेको बेनी नगरपालिका-२ खबराका कृषक शोभित शर्माले बताउनुभयो ।
सात रोपनी जग्गामा लगाएको तरकारी बिक्री नहुँदा पशुलाई खुवाउनु पर्ने वा काटेर फाल्नुपर्ने अवस्था आउन थालेको उहाँको भनाइ छ । शर्माले भन्नुभयो, ‘बजार सबै बन्द छन्, बजारमा भाडामा बस्नेहरु पनि सबै गाउँ उक्लिएका छन्, को आएर हाम्रो तरकारी किनिदिने हो र ? किन्ने मान्छे नै आउँदैनन्’, उहाँले भन्नुभयो । गत वर्षको बन्दाबन्दीले भन्दा यो वर्षको निषेधाज्ञाले किसानलाई बढी घाटा पुर्याएको उहाँको भनाइ छ । यो वर्ष कोरोनाले धेरै मानिसको मृत्यु भएका कारण पनि मानिस डराएकाले कोही पनि बारीमा किन्न नआउने गरेको उहाँले बताउनुभयो । त्यस्तै अवस्था छ खबराकै अर्का अगुवा कृषक चन्द्रबहादुर कार्कीको पनि ।
कार्कीले करिब १० रोपनी जग्गामा लगाएको तरकारी खेती अहिले पशुको आहारा बनेको छ । ‘दश रोपनीमा लगाएको मुला, काँक्रो, धनियाँ, सिमी, बन्दा, करेलालगायतका तरकारी बिक्री नभएपछि लगानी नै उठाउन गाह्रो भएको छ’, कार्कीले भन्नुभयो ‘गत वर्ष लकडाउन भए पनि ४ लाख आम्दानी भएको थियो, तर यो वर्ष भने एक दुई लाख हुन्छ कि हुँदैन चिन्ताले सताउन थालेको छ ।’ निषेधाज्ञा नहुँदै टिप्ने नभएको र टिप्ने समयमा लकडाउनले बजार पठाउन नपाएको मङ्गला गाउँपालिकाका अर्का कृषक टेकनाथ सापकोटाले भन्नुभयो । उहाँका अनुसार सिमी, बन्दा, धनियाँ, काँक्रो छिप्पिएर काम नलाग्ने भइसकेका छन् । आधाजति तरकारी पशुलाई खुवाइसकिएको र आधा बारीमै कुहेर खेरजाने अवस्थामा पुगेका छन् ।
तरकारीको बिक्रीले नै घरखर्च टार्ने यहाँका किसानहरु आम्दानी नभएपछि मर्कामा परेको स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ । म्याग्दीमा २०० भन्दा बढी कृषकले व्यावसायिक तरकारी खेती गरेका छन् । ती सबै कृषकले उत्पादन गरेको तरकारीले अहिले बजार नपाउँदा खेतबारीमै खेर जान थालेको मङ्गलाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । यहाँका कृषकहरुले तरकारी बिक्री गरेर वार्षिक १० करोडदेखि १६ करोडसम्म आम्दानी गर्दै आएका कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: