×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पानी नपरेकै कारण चिया उत्पादनमा ह्रास, निकासीमा पनि लफडा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पानी नपरेकै कारण चिया उत्पादनमा ह्रास, निकासीमा पनि लफडा

२७ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

इलाम । विगतका वर्षमा यसपटक चियाको ‘सेकेण्ड फ्लस’ टिप्ने बेला हुन्थ्यो । चियाको मुनाकै राजा मानिने ‘फस्ट फ्लस’बाटै किसानले उल्लेखनीय आम्दानी बटुल्थे । यसपटक विगत झैँ भएन । चियाको पहिलो टिपाइ फस्टाउनका लागि फागुन पहिलो वा मध्यसम्ममा आकाशबाट पानी पर्दा फाइदा पुग्छ । यसपटक त्यो समयमा पानी परेन । यसैले यसपटक चिया उत्पादन ह्वात्तै घट्यो । गत वर्ष तीन हजार किलो हरियोपत्ती बनाउनुभएका इलाम नगरपालिका-१ स्थित साँखेजुङका किसान गोपाल दाहालले यसपटक बल्लतल्ल ७०० किलो चिया भएको बताउनुभयो । ‘पानी नपरेकै कारण चिया उत्पादनमा ह्रास आयो । सायदै त्यो मौसममा (फागुन महिना) पानी परेको भए यस पटक चिया बढ्थ्यो’, उहाँले भन्नुभयो ।
चियाका लागि आकाशबाट परेको पानी सबैभन्दा बढी लाभदायक हुन्छ । वैकल्पिक माध्यमबाट पानी लाए पनि आकाशबाट परेको पानीमा जति अन्य तवरको पानीमा चिया फस्टाउँदैन । अघिल्ला वर्षमा पनि यही ‘सिजन’को पानीका कारण चिया उत्पादनमा किसानले हण्डर खानुपरेको थियो । यसपटक त किसानले पानी मात्र नभई मलका कारण पनि समस्या भोग्नुपरेको सूर्योदय नगरपालिकाका किसान गोपाल कट्टेलले राससलाई जानकारी दिनुभयो । ‘पानीको त मुख्य समस्या नै भयो तर मल अभाव हुँदा पनि चिया घटेको छ’, कट्टेलले भन्नुभयो । इलामका धेरै चिया बगान र उद्योग अर्गानिक (जैविक) बनेका छन् । यस्ता बगान र उद्योगले रासायनिक मलको प्रयोग गर्दैनन् तर अन्य उद्योगका लागि भने रासायनिक मलको खाँचो पर्छ । गएको वर्षसमेत यहाँका किसानले रासायनिक मलको अभाव झेल्नु पर्यो ।
निकासीमा उस्तै लफडा
उत्पादनमा समस्या भएको चियामा यसपटक निकासीमा पनि उस्तै लफडा झेल्नुपरेको छ । यहाँको चिया झापा हुँदै भारतीय बजार पुग्ने गर्छ तर यसपटक भने कोरोनाका कारण सहजरूपमा चिया निकासी भएको छैन । कोरोनाले नेपालबाट बाहिर पठाउन समस्या परेको छ भने भारतीय बजारमा चिया किन्नेको पनि सङ्ख्या एकदमै कम छ । ‘हामीलाई यताको भन्दा पनि उताकै तनाव छ । अरुबेला यहाँबाट गएको चिया अधिकतम मात्रामा बिक्री हुन्थ्यो’, सूर्योदय टी प्रोड्युसर्सका सचिवसमेत रहनुभएका कट्टेलले भन्नुभयो, ‘भारतमा कोरोना बढेकै कारण झमेला खेप्नुपरेको छ ।’ चिया लैजानु पूर्व एकपटक चियाको ‘स्याम्पल’ (नमूना चिया) लैजानु पर्छ तर यसपटक स्याम्पलसमेत पठाउन सकिएको छैन । जुन सिजनको चिया निर्यात गर्नुपर्ने हो त्यो सिजनको चिया पहिलै स्याम्पलका रूपमा पठाउनु पर्छ । यसपटक भने कोरोनाका कारण सम्भव भएको छैन ।
विगतका वर्षमा वैशाख १५ सम्ममा पहिलो सिजनको स्याम्पल पठाइसकिन्थ्यो तर यसपटक हालसम्म पुग्न सकेको छैन । देउमाई नगरपालिकाका उद्योगी गोपाल दाहालका अनुसार खरिदकर्ताले चाहेको समयमा चिया पुर्याउन नसक्दा बिक्री नहुने सम्भावना बढी हुन्छ । यसको लागत बढी हुने र फिर्ता हुने भएकाले उद्योगकै घाटामा जान सक्छ । चालु आर्थिक वर्ष ०७७/०७८ मा नौ हजार ५७० मेट्रिक टन चिया निर्यात भएको छ । यसबाट चालु आर्थिक वर्षमा ३ अर्ब ६ करोड आम्दानी भएको भन्सार विभागको तथ्याङ्क छ । गत आर्थिक वर्ष ०७६/०७७ मा ११ हजार १८५ मेट्रिकटन चिया निकासी भएको थियो । यसबाट २ अर्ब ७८ करोड आम्दानी भएको थियो । गत आर्थिक वर्षमा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । कोभिड-१९ का कारण कम निकासी भएको चियाको निकासी सहज भएपछि निर्यात वृद्धि भएको नेपाल चिया तथा कफी विकास बोर्डले जनाएको छ । रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: