×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४१ करोड ३४ लाख लागतमा बाँध मर्मत गर्ने काम सुरु, स्थानीयवासी भए खुशी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

४१ करोड ३४ लाख लागतमा बाँध मर्मत गर्ने काम सुरु, स्थानीयवासी भए खुशी

९ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वीरगञ्ज । रौतहट जिल्लास्थित वाग्मती र लालबकैया नदीमा बाँध मर्मत गर्ने काम सुरु गरिएको छ । प्रत्येक वर्ष वर्षायाममा ती नदीमा बाढी आएर रौतहट जिल्लामा व्यापक क्षति पुर्याउने गरेपछि क्षतिलाई रोक्न बाँध मर्मत गर्ने काम सुरु गरिएको हो । वाग्मती-लालबकैया नदी नियन्त्रणको कार्यालय परवानीपुरका अनुसार अर्थमन्त्रालयले बाँध मर्मतसम्भार गर्न रकम निकासा नगरे पनि सोको काम सुरु गरिएको छ । अहिले भत्किएको ठाउँमा माटो भर्ने र ढुङ्गा, जाली राख्ने काम भइरहेको कार्यालयका प्रमुख अकलाख अहमद सिद्धिकीले राससलाई बताउनुभयो ।
सो कार्यअन्तर्गत वाग्मती नदीको देब्रेतर्फ चार ठाउँमा र दायाँतिर १० ठाउँमा तथा लालबकैया नदीको देब्रेतर्फ सात र दायाँतर्फ आठ स्थानमा मर्मतसम्भार भइरहेको बताइएको छ । बाँध मर्मतसम्भार गर्न अर्थ मन्त्रालयले २ करोड दिने भनिएकाले धमाधम बाँध मर्मत सुरु गरिएको बताइएको छ । प्रत्येक वर्ष वर्षा र बाढीले सो बाँध भत्किने गरेकाले उक्त भत्किएको ठाउँमा पूर्णरूपमा काम गर्न ४१ करोड ३४ लाख खर्च हुने अनुमान गरिएको छ ।
झण्डै ३३.५ किलोमिटर लम्बाइ रहेको सो बाँध भारत सरकारले सन् १९८९ मा निर्माण गरिदिएको थियो । यही बाँध ठाउँठाउँमा भत्किँदा पानी पसेर गाउँमा डुबान हुने गरेको छ । गत जेठमा नदी नियन्त्रण कार्यालयले ५० स्थानमा मर्मत गरेको थियो । पछि फेरि बाढीले २९ स्थानमा सो बाँध भत्किएको थियो । पानी पसेर रौतहट जिल्लाको गङ्गापिप्रा, राजदेवी, इशनाथ नगरपालिकालगायत धेरैजसो गाउँ डुबानमा परेका थिए । यता लालबकैया नदीले इशनाथलगायत उत्तरी भेगका गाउँ र वाग्मतीले गौर, दुर्गाभगवती गाउँपालिका, राजदेवी नगरपालिकालगायत स्थानमा सबैभन्दा बढी क्षति पुर्याउँदै आएको छ ।
वाग्मतीदेखि पश्चिमको धरमपुरबाट सीमा क्षेत्रको १७ किलोमिटर बाँध समस्याग्रस्त रहेको छ । विसं २०५० मा सो नदीमा बाढी आएपछि रौतहटवासी डुबानमा परी धनजनको क्षति भएको थियो । सरकारले वर्षा अगावै भत्केका बाँध मर्मतसम्भार गर्नुपर्ने माग सो क्षेत्रका बासिन्दाको रहेको छ । अघिल्लो वर्ष लालबकैया नदीको सीमा क्षेत्र टिकुलियामा भत्किएको बाँध भारतीय पक्षले मर्मतसम्भार गर्न दिएको थिएन । ढिलै भए पनि सो नदीमा भत्किएको बाँध मर्मतसम्भार हुन थालेपछि त्यस भेगका जनताले वर्षायाममा आफूहरु सुरक्षित रहने विश्वास व्यक्त गरेका छन । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: