
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले चीनले मूल्य खुलाउन नमान्दा कोरोना खोप खरिद गर्न नसकिएको बताएका छन् । नेपालले १करोड डोज खोप खरिद गर्ने गरी पहिलो खेपमा २० लाख डोज खोप खरिद गर्ने प्रस्ताव गरेको थियो । औषधि व्यवस्था विभागले भेरोसेल खोपका लागि अनुमति दिएपछि नेपालले २० लाख डोज किन्न परराष्ट्र मन्त्रालयले बेइजिङस्थित नेपाली दूतावासमार्फत कुरा अगाडि बढाएको त्रिपाठीले बताएका छन् ।
चिनियाँ कम्पनीले ‘नन डिस्क्लोजर एग्रीमेन्ट’ गर्ने प्रस्ताव गरेको भन्दै निवर्तमान मन्त्री त्रिपाठीले भने, ‘उसको डाटा कसैसँग सेयर गर्न पाइँदैन भन्ने कम्पनीको नियम रहेछ ।’ उनले अघि भने, ‘मूल्य खुलाएको भए खरिद प्रक्रिया अघि बढिहाल्थ्यो, त्यो नमानेपछि ढिला भयो ।’ २० लाख खोप कति मूल्यमा र कहिलेसम्म दिने भनेर नेपालले लेखेको अर्को पत्रको जवाफ चिनियाँ पक्षले अहिलेसम्म नदिएको उनले भने ।
रुसबाट खोप किन्न नेपाल तयार भएपनि रुसी पक्षले नै रेस्पोन्स नगर्दा ढिला भएको त्रिपाठीले बताए । उनले भने ‘उच्चस्तरीय प्रतिनिधिमण्डल आएर आगामी डिसेम्बरसम्म ८० लाख डोज उपलब्ध गराउँछौं भनेको थियो । मैले ४० लाख चाहिँ अलि चाँडै गरिदिनुपर्यो भनेको थिएँ । उहाँहरुको मूल्य त खुलेको थियो तर, कति-कति डोज कुन-कुन समयमा पठाउने भन्ने पनि खुलाएनन्, खोप पनि पठाएनन् ।’ उनले भारतीय कम्पनी शेरम इन्स्टिच्युटबाट ५० लाख खोप खरिद हुन नसकेको स्वीकार गरेका छन् ।
नेपालले पहिला प्रतिडोज ४ डलरका दरले २० लाख डोज कोभिसिल्ड खोप किनेको थियो । यो मूल्यमा भारत सरकारले सहयोग गरेको भन्दै उनले भने, ‘उसले ४ डलरको दरमा काठमाडौं विमानस्थलमै ल्याइदियो । त्यहि बेला बंगलादेशले निकै महंगोमा भारतीय खोप खरिद गरेको थियो ।’ तर खरिद गरेकोमध्ये १० लाख डोज खोप आएको छैन र ५० लाख डोज खरिद प्रक्रिया पनि अगाडि बढेको छैन ।
खरिद प्रक्रिया नबुझेर पनि समस्या भएको भन्दै उनले भने, ‘उसको नेपाल प्रतिनिधिले सरकारले खरिद गरे पनि १० प्रतिशत कमिशन पाउनुपर्छ भन्ने बुझेछ । उसले लगानी गरेर खोप ल्याएको भए मात्र १० प्रतिशत लिन पाउँथ्यो ।’ कमिशनको विषयमा पनि प्रधानमन्त्री र आफ्नो एकमत रहेको उनको भनाई छ । सम्बन्धित देश वा उत्पादकबाट सिधा खरिद गर्दा कमिसन नदिने अडानमा आफू रहेको भन्दै उनले भने, ‘कसैलाई कमिशन नदिने विषयमा प्रधानमन्त्रीसँग लामै छलफल भएको हो । त्यो अडानमा म अन्तिमसम्म बसें । प्रधानमन्त्रीसँग सल्लाह गरेरै मैले अडान लिएको हुँ ।’
शुक्रबार मन्त्री पदबाट हटेका निवर्तमान मन्त्री त्रिपाठीले नयाँ स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई खोप खरिदमा पारदर्शी बनाउन आग्रह गरेका छन् । ‘कहाँ-कहाँ प्रक्रिया अन्तिम चरणमा पुगेको छ भन्ने जानकारी गराएको छु,’ कुराकानीका क्रममा उनले भने, ‘खरिदमा पारदर्शीता अपनाउनु होला, यो जनताको जिउमा जाने कुरा हो, खोप भनेर कसैले स्लाइनपानी पठाइदेला, त्यसको परिक्षण गर्ने हाम्रोमा ल्याब छैन । लट नम्बर, ब्याच नम्बर लगायत सबै कुरामा ध्यान दिनुपर्छ भनेर सुझाएको छु ।’
निवर्तमान मन्त्री त्रिपाठीले आफ्नो ६ महिने कार्यकालमा जिम्मेवारीबोधका साथ काम गरेको बताए । कोरोनाको दोस्रो लहर चरम विन्दुमा पुगेको बेला आफू जिम्मेवारीमा रहेको भन्दै उनले आफ्नो बर्कतले भ्याएसम्म काम गरेको ‘बताए । ‘म लामो समय रहिन, तर जति रहें इमान्दारी र जिम्मेवारीबोधका साथ गरेर काम गरें,’ उनले भने, ‘हामीले धेरै मान्छेको ज्यान बचाउन सकेनौं, त्यसमा पश्चाताप छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्