×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानी बोर्डको ४७औं बैठक सम्पन्न, करिब ९७ अर्ब बराबरको लगानी स्वीकृति

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ असार २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

लगानी बोर्डको ४७औं बैठक सम्पन्न, करिब ९७ अर्ब बराबरको लगानी स्वीकृति

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सम्माननीय प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा लगानी बोर्डको ४७औं बैठक आज मंगलबार सम्पन्न भयो । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकले अनुमानित लागत ५४ करोड अमेरिकी डलर रहेको माथिल्लो तमोर जलविद्युत परियोजना (२८५ मेगावाट) र अनुमानित लागत ३३ अर्ब ४१ करोड ४० लाख रहेको तल्लो मनाङ्ग मर्स्याङ्गदी जलविद्युत परियोजना (१३९.२ मेगावाट) गरी दुई वटा जलविद्युत परियोजनाको करिब ९७ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ ।
बैठकले सार्वजनिक-निजी साझेदारी अवधारणामा झापाको दमकमा निर्माण हुने गरी प्रस्ताव गरिएको मुलुककै सबैभन्दा ठूलो औद्योगिक पार्क (China Nepal Friendship Industrial Park) को विस्तृत परियोजना प्रतिवेदन (Detailed Project Report-DPR) स्वीकृत गरी विकासकर्तासँग परियोजना विकास सम्झौता (Project Development Agreement-PDA) को लागि आवश्यक तयारी गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । बैठकले संखुवासभा जिल्लामा निर्माण हुने तल्लो अरुण जलविद्युत परियोजना (६७९ मेगावाट) को विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमति–पत्र जारी गर्न परियोजना विकासकर्ता SJVN Limited India सँग गरिने समझदारी-पत्र (MoU) को मस्यौदा स्वीकृत गरेको छ ।
त्यसैगरी, बैठकमा तमोर जलाशययूक्त जलविद्युत परियोजना (७५६ मेगावाट) को सर्वेक्षण अनुमति प्रदान गर्ने सम्बन्धमा देखिएका अस्पष्टताहरुलाई सम्बोधन गरी आवश्यक कानूनी सुधार गर्न ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । साथै बैठकले पश्चिम सेती र एसआर-६ संयुक्त जलविद्युत परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न अध्ययन गरी बोर्ड समक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्षको संयोजकत्वमा एक समिति गठन गरेको छ । यसैगरी, बैठकले अरुण ३ जलविद्युत परियोजना प्रवेश मार्ग अन्तर्गत छ्याङ्कुटी-दिदिङ खण्डमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउने आवश्यक प्रकृया अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । लगानी बोर्डको संस्थागत सुधार एवं कार्य प्रणाली व्यवस्थित गर्ने सम्बन्धमा ‘विदेशी मुद्रा सटही एवं स्थानान्तरण सुविधा सिफारिस सम्बन्धी कार्यविधि, ‘२०७८’ स्वीकृत भएको छ ।
उक्त अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले ऊर्जा सम्बन्धी परियोजनाको विकास गर्दा ऊर्जाको उत्पादन सँगसगै प्रसारण प्रणाली समेतको निर्माण कार्य अगाडि बढाई परियोजनाको प्रभावकारी कार्यान्वयनमा आवश्यक समन्वय तथा सहजीकरण गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभयो । त्यसैगरी उहाँले उत्पादित ऊर्जाको स्वदेशमै खपत बढाउन औद्योगिक विकासलाई तीव्रता दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो ।
उक्त बैठकमा माननीय उपप्रधान तथा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष विष्णु पौडेलले लगानी बोर्डमा पेश गरिएका प्रस्तावहरु मुलुकको आर्थिक विकासमा टेवा पुर्याउने देखिएको बताउँदै बोर्डका निर्णयहरुको प्रभावकारी कार्यान्वयमा ध्यान पुर्याउनु पर्नेमा जोड दिनुभयो । बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरे बमोजिम परियोजना तथा संस्थागत विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराउनु भएको थियो ।
उक्त अवसरमा माननीय ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शरतसिंह भण्डारी, माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङ् , माननीय वन तथा वातावरण मन्त्री श्री नारद मुनि राना, राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. पुष्प राज कँडेल, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बोर्डका विज्ञ सदस्य हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठ, आमन्त्रित सदस्य बालकृष्ण शिवाकोटी लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: