×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५३ लाख २४ हजार लागतमा पिपलबोट-सेराफाँट सिँचाइ आयोजना पुनःनिर्माण, स्थानीयवासीमा छायो खुसीयाली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

५३ लाख २४ हजार लागतमा पिपलबोट-सेराफाँट सिँचाइ आयोजना पुनःनिर्माण, स्थानीयवासीमा छायो खुसीयाली

Artha Sarokar

२७ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

म्याग्दी । बाढीले क्षति पुर्याएको जिल्लाको मङ्गला गाउँपालिका-५ स्थित पिपलबोट-सेराफाँट सिँचाइ आयोजना पुनःनिर्माण भएको छ । विसं २०७७ असार-साउन महिनामा अर्मनखोलामा आएको बाढीले सिँचाइ आयोजनाको मुहान बगाएको थियो । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीको सहयोगमा स्थानीयवासीले श्रमदान गरेर बाढीले बगाएको ठाउँमा छेकबाँध, पलम प्रविधिको पक्की पर्खाल र नहर निर्माण गरेका हुन् ।
पिपलबोट-सेराफाँट सिँचाइ जलउपभोक्ता समितिका अध्यक्ष श्यामसुन्दर कडेलले मुहान र नहर पुनःनिर्माण कार्य सकेर पानी चलाइएको जानकारी दिनुभयो । ‘बाढीले नहर बगाएपछि सिँचाइको समस्या भएको थियो’, उहाँले भन्नुभयो, ‘बाढीले कटान गरेको ठाउँमा नयाँ नहरका साथै पलम कङ्क्रिट पर्खाल र मुहानमा २९ थान ग्यावियन पर्खाल भएको छ ।’
कोरोनाको जोखिम र नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको असहज अवस्थाका बीच स्थानीय मजदुर परिचालन गरेर सिँचाइ आयोजना पुनःनिर्माण भएको हो । रोपाइँको तयारीमा रहेका कृषकहरुमा सिँचाइ आयोजना पुनःनिर्माण भएपछि खुसीयाली छाएको स्थानीय तुलसीराम सापकोटाले बताउनुभयो । बाढीले नहर बगाएपछि अस्थायीरूपमा पाइप राखेर पानी आपूर्ति गराइएको थियो ।
कार्यालयको ४८ लाख १७ हजार १९७ रुपैयाँ अनुदान र उपभोक्ताको ५ लाख ६ हजार ९३८ गरी जम्म ५३ लाख २४ हजार १३५ को लागतमा पुरानो नहर पुनःनिर्माणका साथै ६०० मिटर थप नयाँ नहर निर्माण भएको छ । यसैगरी पहिरोले नहर पुरिएपछि हाँडेभिर र काँसेबगर क्षेत्रमा सिँचाइका लागि पानी आपूर्ति गराउन १२० मिटर २८० एमएम र ५० मिटर २०० एमएमको पाइप जडान गरिएको छ ।
आयोजनाबाट ५२ हेक्टर क्षेत्रफल जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीका इञ्जीनियर बालकृष्ण बुढाथोकीले जानकारी दिनुभयो । ‘विसं २०७७ पुसमा सम्झौता गरेको उपभोक्ता समितिले निर्धारित समयभित्रै निर्माण सकेको छ’, उहाँले भन्नुभयो, ‘हाम्रो तर्फबाट अन्तिम किस्ता भुक्तानीका लागि स्थलगत नापजाँच सकेर मूल्याङ्कन अन्तिम चरणमा पुगेको छ ।’
विसं २०५५ मा निर्माण भएको आयोजनाको कच्ची नाली, पाइपमार्फत पानी ल्याएर वितरण गर्दा पर्याप्त पानी नआउने, पालो लगाएर सिँचाइ गर्नुपर्ने समस्या भएपछि विसं २०७५ मा एक हजार ५०० मिटर लामो नयाँ नहर निर्माण भएको थियो । नयाँ नहर निर्माण र पुनःनिर्माण भएपछि आवश्यकता अनुसार पानी आपूर्ति भई खेतीबाली लगाउन सहज भएको सेराफाँटका गोविन्द पौडेलले बताउनुभयो । पिपलबोट र सेराफाँट धान, गहुँ र मकै खेतीको पकेट क्षेत्र हो । सिँचाइ सुविधा भएपछि कृषि उपजको उत्पादन बढ्ने भन्दै कृषक उत्साहित भएका छन् । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी