×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

परिकल्पना भएको दशकपछि ‘रामायण पार्क’ कार्यान्वयनमा, पर्यटन मन्त्रालय र नगरपालिकाद्धारा करोडौं बजेट विनियोजन

म्याग्दी । म्याग्दीको पौराणिक स्थल पछैमा परिकल्पना भएको एक दशकपछि रामायण पार्क (उद्यान) निर्माण गर्ने योजना कार्यान्वयनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिका-५ पछैमा रामायण पार्क बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर कार्यान्वयनमा लगेको हो ।
नगर प्रमुख हरिकुमार श्रेष्ठले डिपिआर तयार र बजेटको व्यवस्थापन गरेर ठेक्का प्रक्रियामार्फत रामायण पार्क निर्माणको प्रक्रिया शुरु गर्न लागिएको जानकारी दिनुभयो । ‘पहिलो चरणमा रावणको मुर्ति, बगैँचा, विश्रामस्थल लगायतका पूर्वाधार तयार पार्न पर्यटन मन्त्रालयले २ करोड ११ लाख र नगरपालिकाले १ करोड १४ लाख विनियोजन गरेका छन्’, उहाँले भन्नुभयो, ‘बजेटको उपलब्धता र आवश्यकताका आधारमा पूर्वाधार निर्माणलाई निरन्तरता दिनेछौँ ।’
हिन्दू धर्मग्रन्थ रामायणको पाँचौ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा व्याख्या गरिएको छ । विसं २०६६ मा म्याग्दी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष प्रमोदकुमार श्रेष्ठलगायतले धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा रामायण पार्क बनाउने योजनाको परिकल्पना गर्नुभएको थियो । चौध रोपनी क्षेत्रफलमा फैलिएको पुलह पुलत्स्य क्षेत्रको चार रोपनीमा रामायण पार्क बनाउन लागएको हो ।
हालको मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडेको ठाउँलाई यथावत राखेर पूर्वाधार बनाइने भएको छ । कुल रु २३ करोड लागत अनुमान गरिएको उद्यान दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो । पछैमा पौराणिक महत्व झल्कने किसिमको रावणको आकर्षक मुर्ति राख्ने, बगैँचा निर्माण, नाभी गाडेकोलगायत ठाउँको संरक्षणका लागि पूर्वाधार र २०० मिटर कालोपत्रे गर्ने योजना छ । विसं २०७४ देखिनै बजेट विनियोजन गरे पनि ठाउँको विवाद र स्रोतको अभावमा रामायण पार्कको योजना कार्यान्वयन हुन सकेको थिएन ।
पुलह पुलस्त्य क्षेत्र विकास कोषका अध्यक्ष लीलाबहादुर बानियाले रामायण पार्क निर्माण हुन लागेकामा उत्साहित भएको बताउनुभयो । ‘पौराणिक स्थलको प्रचारप्रसार र संरक्षणसँगै धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ’, उहाँले भन्नुभयो, ‘रामायण पार्क म्याग्दीको पर्यटन विकासमा कोसेढुङ्गा बन्नेछ ।’ मुक्तिनाथ प्रवेशद्वार गलेश्वर, पुलाचौरको पछै, जगन्नाथ र टोड्के क्षेत्रलाई समेटेर धार्मिक करिडोर बनाउने योजना पनि अघि सारिएको छ ।
समुद्री सतहदेखि दुई हजार मिटरको उचाइमा अवस्थित पछैबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि हिमशृङ्खला, सूर्योदय, बेनी बजारलगायत म्याग्दी, पर्वत र बागलुङको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । बेनी बजारदेखि गाडीमा ३० मिनेट यात्रा गरेपछि पछै पुग्न सकिन्छ । बेनी अर्थुङ्गेसम्मको सडक कालोपत्रे भएको छ । पछैको पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि अर्थुङ्गेदेखि पुलाचौरसम्मको सडक स्तरोन्नतिमा जोड दिइएको प्रतिनिधिसभाका निवर्तमान सदस्य भुपेन्द्र थापाले बताउनुभयो । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: