×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निशा घिमिरेको अवस्थामा सुधारः ह्वील चेयरमा बस्ने भइन, प्रतिक्रिया जनाउन थालिन्

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको जेठ २७ गते उद्धार गरेकी थिइन् । हाल नर्भिकले उनलाई विशेष उपचार कक्षमा राखेर उपचार गरिरहेको छ । उद्धार गरेर ल्याएको भोलिपल्टदेखि नै उचित उपचार, आहारविहार र केयरिङ पाएका कारण कलाकार निशाको मुहारमा चमक देखिएको थियो ।
अस्थिपञ्जर मात्रै बाँकी रहेको जस्तो देखिने उनको शरीरका घाउहरु निको हुन थालेका छन् भने अन्य स्वास्थ्य अवस्थामा पनि सुधार भइरहेको छ । हाल नर्भिक अस्पतालले ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेको छ । डा. पंकज जलान नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ । अस्पतालमा आउँदा जिउँदो लाशजस्तो रहेकी उनी चलमलाउन थालेकी छिन् । बुझेजस्तो गरी शरीर तथा अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रिया समेत दिन थालेकी छिन् । उनले पछिल्लो समय बोल्ने समेत कोशिश गरिरहेकी छिन् ।
उपचारका संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार भोक लाग्दा संकेत दिनेसम्मको भएकी छिन् । ‘उहाँ भोक लाग्यो भने कराएजस्तो गर्नुहुन्छ ।’ उपचार संलग्न चिकित्सहरु भन्छन्-‘क्रमशः अवस्थामा सुधार भइरहेको छ ।’ उनले सोझै खाना खान भने सकेकी छैनन् । पाइपमार्फत खाना दिइने गरिएको छ । डा. जलानले निशाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका छन् । उनले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचार गरिरहेको समेत बताए । जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने संभावना भने न्यून छ । ‘उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ ।’ डा. जलानले भने-‘तर, आएको बेलाको तुलनामा घाउहरु निको हुन थालेका छन् । हामीले डाइट र थेरापीमा फोकस गरेका छौं । प्रोटिन, क्यालोरिजहरु प्रशस्त दिइरहेका छौं । हिजोबाट ह्वीलचेयरमा समेत बसाउन सुरु गरेका छौं ।’ निशाको अवस्थालाई उनले ‘जनरल कण्डीसन इम्प्रूभ’ भएको अवस्थाको रुपमा बुझ्न सकिने बताए ।
तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल निशा घिमिरेको उद्धार गर्नुअघिको अवस्था निकै दर्दनाक थियो । चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन् । तीन वर्षअघि अभिनयको कोर्स पढ्न उनी भारत गएकी थिइन् । त्यहाँ भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए । काठमाडौंमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर उनको अवस्थामा सुधार हुन सकेन ।
त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो । नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् । यो अवधिमा निशाको अवस्थाको बारेमा समाचारहरु समेत प्रकाशन भएका थिए । तर, उनलाई उद्धार गर्न, उचित उपचार व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन् । नर्भिकले उनको उद्धार गरेपछि उनलाई आर्थिक सहयोग गर्नेहरुको समेत लहर नै चलेको छ । उनको नाममा अक्षयकोष स्थापना गरी सहयोग रकम धमाधम जम्मा भइरहेको उनको उद्धारका लागि समन्वय गरेका समाजसेवी दुर्गानाथ दाहालले जानकारी दिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: