काठमाडौं । कृषि तथा पशुपन्छी बीमाको बीमाशुल्कमा ५० प्रतिशत मात्रै छुट पाउने भएको छ । बीमा समितिले कृषि तथा पशुपन्छी बीमाको बीमाशुल्कमा ५० प्रतिशत मात्रै छुट पाउने निर्देशन दिएको हो । समितिले चालु आर्थिक वर्ष देखि लागू हुने गरी उक्त निर्देशन दिएको हो ।
समितिले नेपाल सरकारको आर्थिक वर्ष २०७८/७९ को आय व्ययको सार्वजनिक जानकारी वक्तव्यमा उल्लेख भएअनुसार खाद्य भण्डारण गृह, बाली तथा पशुपन्छी बीमाको बीमाशुल्कमा ५० प्रतिशत मात्रै अनुदानको व्यवस्था गर्न निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
जस अनुसार साउन १ गते देखि खाद्य भण्डारण गृह, बाली तथा पशुपन्छीको बीमा गर्ने किसान तथा कृषि व्यवसायिहरुले कुल बीमाशुल्कको ५० प्रतिशत मात्रै छुट पाउनेछन् । गत आर्थिक वर्ष सम्ममा सरकारले कृषि तथा पशुपन्छी बीमाको बीमाशुल्कमा ७५ प्रतिशत अनुदान प्रदान गर्दै आइरहेको थियो । निवर्तमान अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कृषि तथा पशुपन्छी बीमामा किसानहरुले पाउदै आइरहेको अनुदान २५ प्रतिशतले घटाएर ५० प्रतिशत मात्रै पाउने घोषण गरेका थिए ।