काठमाडौँ । नेपाल धितोपत्र बोर्डको सञ्चालकबाट चन्द्र ढकाल राजिनामा दिएका छन् । भाइका नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेपछि विवादमा तानिएका उनले पदबाट राजिनामा दिएका हुन् । आजै बुधबारबाट लागू हुने गरी उनले राजिनामा दिएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका ढकाल बोर्डको प्रतिनिधित्व गर्दै धितोपत्र बोर्डका सदस्य बनेका थिए । यता नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आफ्नो कार्यव्यस्तताका कारण ढकालले बोर्डको सञ्चालकबाट राजिनामा दिएको बताए ।
यसैबीच हिजो मंगलबार नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले पनि राजिनामा दिएका छन् । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणपछि धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना, संचालक चन्द्र ढकाल र नेप्से प्रमुख साउद विवादमा तानिएका थिए ।