×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘मुलुकमा ३ करोड ६३ लाख निक्षेप खाता पुग्यो, मोबाइल बैंकिङका प्रयोगकर्ता भने ३२ % मात्रै छ’ : केन्द्रीय बैंक

काठमाडौं । देशभरका कुल ७५३ ओटा स्थानीय तहमध्ये ७५० ओटा स्थानीय तहमा वाणिज्य बैंकका शाखाको पहुँच पुगेको छ । धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको साइपालमा भने वाणिज्य बैंकका शाखा खुल्न सकेको छैन । ती स्थानीय तहमा पनि वाणिज्य बैंकको शाखा कार्यालय स्थापना लागि आवश्यक पहल भइरहेको छ ।
केन्द्रीय बैंकले शुक्रवार सार्वजनिक गरेको ‘नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन’ अनुसार २०७८ चैत मसान्तसम्म इजाजत प्राप्त क, ख र ग वर्गका बैंकिङ संस्थाका शाखा सङ्ख्या ५ हजार ९७८ पुगेको छ । प्रतिवेदनअनुसार निक्षेप खाता सङ्ख्या ३ करोड ६३ लाख ६६ हजार र कर्जा खाता सङ्ख्या १६ लाख ८२ हजार ८४५ रहेको छ । विवरणअनुसार नेपालका बैंक तथा वित्तीय संस्थाबाट १६ लाख ८२ हजार बढीले ऋण लिएको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले २०७७ जेठ मसान्तसम्म कायम भएका निक्षेप खाताको विवरणको आधारमा उक्त अध्ययन गरिएको बताएको छ । वित्तीय साक्षरताको प्रवर्द्धन, शाखा विस्तार, शाखा रहित बैंकिङ भुक्तानी प्रणालीको आधुनिकीकरणलगायतका कारणले बैंक तथा वित्तीय संस्थाका प्रतिशाखाले सेवा दिने नागरिकको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको पाइएको छ ।
निक्षेप खातामा महिलाको हिस्सा बढी
केन्द्रीय बैंकका अनुसार कुल निक्षेप खातामध्ये महिलाको खाता सङ्ख्या बढी रहेको छ । कुल निक्षेप खाता ६७ दशमलव ७ प्रतिशत खाता सक्रिय छन् । त्यसमा पुरुषको हिस्सा ६५ दशमलव २ प्रतिशत र महिलाको हिस्सा ७२ दशमलव ३ प्रतिशत रहेको छ ।
कुल निक्षेप खातामध्ये बचत निक्षेप खाता ९० दशमलव ६ प्रतिशत रहेको छ । यस्तै, मुद्दती निक्षेप खाताको हिस्सा ३१ प्रतिशत छ । ग्रामीण क्षेत्रका नगरपालिकामा ८१ दशमलव ५ प्रतिशत खाता सक्रिय रहेको छ । व्यक्तिगत खातामा ९६ दशमलव १५ प्रतिशत हिस्सा वयस्क व्यक्तिको छ ।
केन्द्रीय बैंकका अनुसार २०७७ जेठ मसान्तसम्म ३ करोड १८ लाख ८६ हजार निक्षेप खाता खोलिएका छन् । तीनपुस्ते विवरणका आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा २०७७ जेठ मसान्तसम्म कम्तीमा एक निक्षेप खाता भएका नेपालीको सङ्ख्या ६० दशमलव ९ प्रतिशत रहेको अध्ययनमा देखिएको छ ।
प्रतिहजार व्यक्ति ९९८ ओटा खाता रहेकामा पुरुषको प्रतिहजार व्यक्ति १ हजार ३१४ ओटा खाता र महिलाको प्रतिहजार व्यक्ति ६८७ ओटा खाता रहेका छन् । प्रदेशगत रुपमा सबैभन्दा बढी वाग्मती प्रदेशमा प्रतिहजार व्यक्ति १ हजार ८०२ ओटा र कर्णाली प्रदेशमा सबैभन्दा कम प्रतिहजार व्यक्ति ४५८ ओटा खाता छन् । महानगरमा प्रतिहजार व्यक्ति ३ हजार २९६ ओटा र ग्रामीण नगरपालिकामा प्रतिहजार व्यक्ति २५१ ओटा खाता छन् ।
प्रति १ लाख जनसङ्ख्यालाई सेवा पु¥याउने बैंकका शाखा सङ्ख्या औसतमा १८ दशमलव ९८ प्रतिशत रहेको छ । उक्त सङ्ख्या सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३० दशमलव २५ प्रतिशत र सबैभन्दा कम प्रदेश नं २ मा ९ दशमलव ७३ प्रतिशत छ । ग्रामीण क्षेत्रमा प्रति १ लाख जनसङ्ख्यालाई सेवा पु¥याउने बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ८ दशमलव ५४ र महानगरपालिकामा ४५ दशमलव ७६ प्रतिशत छ ।
 
मोबाइल बैंकिङ प्रयोगकर्ता ३२ प्रतिशत
केन्द्रीय बैंकका अध्ययनअनुसार मोबाइल प्रयोगकर्ताको सङ्ख्या ३२ दशमलव शून्य ३ प्रतिशत छ । प्रविधिको प्रयोगअन्तर्गत प्रतिखाता एटीएम प्रयोगकर्ता २० दशमलव ३५ प्रतिशत, इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३ दशमलव ८६ प्रतिशत मात्रै छन् । प्रतिखाता एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट प्रयोगकर्ता सबैभन्दा बढी वाग्मती प्रदेशमा छन् ।
त्यसमा एटीएम २६ दशमलव ११, मोबाइल बैंकिङ ३३ दशमलव १२ र इन्टरनेट बैंकिङ ६ दशमलव ४० प्रतिशत छन् । प्रतिखाता एटीएम प्रयोगकर्ता गण्डकी प्रदेशमा सबैभन्दा कम १४ दशमलव ५० प्रतिशत छन् । प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता प्रदेश नं २ मा सबैभन्दा कम २७ दशमलव शून्य १ प्रतिशत र प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा सबैभन्दा कम शून्य दशमलव ५२ प्रतिशत छन् ।
महानगरमा प्रतिखाता एटीएम प्रयोगकर्ता २७ दशमलव २८ प्रतिशत, इन्टरनेट बैंकिङ प्रयोगकर्ता ६ दशमलव ४८ प्रतिशत छन् । गाँउपालिकामा प्रतिखाता एटीएम प्रयोगकर्ता १० दशमलव ६१ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १ दशमलव शून्य ८ प्रतिशत छन् । प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता गाँउपालिकामा सबैभन्दा बढी ३३ दशमलव ३६ प्रतिशत छ ।
उमेरगत हिसाबमा २० वर्ष उमेरभन्दा माथि प्रविधिको प्रयोग क्रमशः बढ्दै गएको देखिन्छ । युवापुस्तामा प्रविधिको प्रयोग उच्च रहेका हुँदा आगामी दिनमा प्रविधिको माग थप बढ्दै जाने देखिएको केन्द्रीय बैंकले बताएको छ । -रासस
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: